काठमाडौं, पुस २३ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एसिया प्यासिफिक सम्मेलनमा होली वाइन र क्रिश्चियनसँग आफूलाई जोडेर आएका विषयलाई पुष्टि गर्न चुनौती दिएका छन् ।
प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा एसिया प्यासिफिक सम्मेलनमा सरकारको संलग्नता र विदेशमा भएको यसको प्रचारबारे सदस्यले उठाएको प्रश्नको जवाफ दिँदै उनले क्रिश्चियन धर्मको प्रचारक बन्न खोज्यो भन्ने ढंगबाट गरिएको प्रचार कुत्सित मनसायबाट प्रेरित रहेको बताए ।
नेता नेपालले भने–‘माधव नेपाललाई वाइन शब्दसँगै एलर्जी छ । वाइन कहिल्यै नै खाँदैन । हिन्दू परिवारबाट आएको भएपनि हिन्दूधर्म वा कुनैपनि धर्म मान्दैन । हामी कम्युनिस्ट हौं । जनताको धर्मको अधिकारलाई सम्मान गर्छाैं ।’
‘जनताको मनलाई सम्मान गर्न सबै धार्मिक कार्यक्रममा भाग लिन्छौं । हिन्दू, बुद्धिस्ट, मुस्लिम, जैन जुन धर्मावलम्बीले बोलाएपनि हामी जान्छौं । म त भगवान् मान्दिनँ । जनताको भावनामा चोट पुर्याउने राजनीतिज्ञको काम होइन । नेपालको उत्पत्ति हिन्दू र बौद्धधर्मको पहिचानसँग जोडिएको छ’–उनले भने ।
पूर्वप्रधानमन्त्री नेपालले भने–‘एसिया प्यासिफिक सम्मेलन नेपाललाई विश्वमा चिनाउन राम्रो भावनाबाटै गरिएको छ । सरकारले अघि सारेको ‘सुखी नेपाली र समृद्ध नेपाल’को नारालाई कार्यान्वयन गर्न सहयोग पुर्याउने उद्देश्य सम्मेलनको थियो ।’
युनिभर्सल पिस फेडरेसनले विभिन्न समयमा आयोजना गरेको विभिन्न कार्यक्रममा नेपालका बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, गणेशमानसिंह, सुशील कोइराला, शेरबहादुर देउवासमेत भाग लिएकोबारे नेता नेपालले समितिलाई जानकारी गराए ।
बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले एसिया प्यासिफिक सम्मेलनसँग सरकारको संलग्नता जोडर दुष्प्रचार गर्न खोजिएको बताए ।
समितिको सोमबारैको बैठकले नेपाल वायुसेवा निगमको ‘वाइडबडी’ खरिद प्रकरणका सम्बन्धमा अध्ययन–अनुसन्धान गरी प्रतिवेदन दिन गठित उपसमितिको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । रासस









प्रतिक्रिया दिनुहोस्