
बर्दघाट–सुस्ता पूर्व प्रदेश नम्बर–४ (नवलपुर क्षेत्र)को जिससमा पूरै प्यानल कांग्रेस विजय भएको छ भने पश्चिम प्रदेश नम्बर–५ (परासी क्षेत्र)को जिससमा कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमको गठबन्धन विजयी भएको छ ।
पूर्वी जिल्लामा कांग्रेसको बहुमत रहेपनि पश्चिम जिल्लामा कांग्रेसलाई बहुमत पुर्याउन एक मत अपुग भएपछि लोकतान्त्रिकलाई उपप्रमुख र एक महिला सदस्य दिने सहमति भएको थियो ।
कांग्रेसको बहुमत भएपनि दुवै जिल्लामा एमालेले उम्मेदवारी दिएपछि चुनाव भएको थियो । दुवै जिल्लाको समिति ९ सदस्यीय रहेको छ ।
नवलपरासीलाई १५ स्थानीय तहमा विभाजन गरेर दुई चरणमा स्थानीय तह निर्वाचन भएको थियो । जसअनुसार पूर्वी जिल्लामा ८ र पश्चिममा ७ स्थानीय तह छन् ।
शुक्रबार भएको निर्वाचनमा पूर्वी जिल्लाको जिसस प्रमुखमा चेसराम आले (बुलिङटार गाउँपालिका–१) र उपप्रमुखमा शारदा विक (गैंडाकोट–५) विजयी भएका छन् ।
सदस्यहरुमा मुरारीबहादुर घिमिरे, बद्री सापकोटा, लक्ष्मीकान्त पाण्डे, मकरध्वज कुमाल विजयी भएका छन् ।
त्यसैगरी, महिला सदस्यमा ज्ञानुमाया शर्मा, खीमा सारु र तुलसीसरा सोमै मगर विजयी भएका छन् । उक्त जिल्लामा चार नगरपालिका र चार गाउँपालिका छन् ।
त्यसैगरी, तीन नगरपालिका र चार गाउँपालिका रहेको पश्चिम जिल्लाको जिसस प्रमुखमा शिवशंकर राय (रामग्राम नगरपालिका–१२) र उपप्रमुखमा अब्दुल रहमान चुरिहार विजय भएका छन् ।
सदस्यहरुमा कृष्णबहादुर मगर, बजरंगी कोइरी र राजेश यादव छन् ।
दलित तथा अल्पसंख्यकमा लक्ष्मी विक र महिला सदस्यहरुमा चन्द्रकला शर्मा, उषा बन्जाडे र आशादेवी चौधरी विजयी भएका छन् ।
पूर्वी जिल्लाको कावासोती र पश्चिमको सदरमुकाम परासीमा चुनाव भएको थियो ।
प्रतिक्रिया दिनुहोस्