
झन्डै रु डेढ अर्ब लागत लाग्ने उक्त सडकको पहिलो खन्डको १० किमी सडक शुक्रबारदेखि निर्माण सुरु भएको हो । डिपीआर रिपोर्टमा उक्त लोकसन्चार मार्गको पहिलो खन्डका लागि रु ५० करोड ८५ लाख लाग्ने उल्लेख गरिए पनि रू सवाँ २४ करोडमा ठेक्का सम्झौता भएको छ ।
जिलिंगको सिमखेत केउरिनी–कुमरी झ्याङ्लीपोखरी हुँदै धादिङको आचार्य पोखरीबाट धार्के बजारमा पृथ्वीराजमार्गमा जोडिने उक्त सडक तीन खन्डमा निर्माण हुनेछ ।
सडक कार्यालयका अनुसार पहिलो खन्ड जिलिङको सिमखेत बालुवाखानीदेखि केउरिनी हुँदै हर्रेसम्म र दोस्रो खन्ड हर्रेदेखि कुमरीको बाह्रबिसेको कोल्पुखोला पुलसम्म हुनेछ । कोल्पुखोलाको पुलदेखि धार्केसम्मको तेस्रो खन्डको काम भने भरतपुर डिभिजन सडक कार्यालयले गर्नेछ ।
राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित वार्षिक विकास कार्यक्रममा आव २०७३÷०७४ देखि समावेश भएको उक्त आयोजना सम्भावित रणनीतिक सडक शीर्षकमा समावेश छ । बजेट उपशीर्षक नम्बर ३३७३३५ भएको ‘पी वान’को उक्त सडक शुक्रबार जिलिङको पाँचखलेमा नुवाकोट डिभिजन सडक कार्यालयका प्रमुख निरज शाक्यले निर्माणको शुभारम्भ गरे ।
लोकसन्चार मार्गको पहिलो चरणको सिमखेत–केउरिनी–हर्रे खण्डको नौ किमी ९०० मिटर सडक कालोपत्रमा स्तरोन्नति गर्न स्वच्छन्द÷वल्र्डवाइड÷अमृत जेभी नामको काठमाडौंमा दर्ता भएका तीन ओटा ठेकेदार कम्पनीले संयुक्तरुपमा रु २४ करोड, २८ लाख ८४ हजार ३६१ मा ठेक्का सम्झौता गरेका थिए । पहिलो खन्डको कालोपत्रसम्मको काम ठेकेदार कम्पनीले २०७८ जेठ मसान्तसम्म सम्पन्न गर्नुपर्ने भए पनि दुई वर्षमै सक्ने लक्ष्य छ ।
अर्थ मन्त्रालयले पहिलो खन्डलाई रु ५० करोड ८५ लाखको काम बहुवर्षीय ठेक्काबाट गर्न २०७३ साल मंसिर २७ गते सहमति दिएको थियो । ठेक्काको प्रक्रिया लामो भएका कारण गत असार मसान्तमा मात्र ठेकेदार कम्पनीसँग सडकले सम्झौता गरेको थियो । सम्झौता गरेलगत्तै वर्षायाम सुरु भएका कारण असोजमा मात्र सडकको स्तरोन्नति सुरु गरिएको हो ।
अर्थले दिएकोभन्दा आधा रकममा ठेक्का सम्झौता भएका कारण बाँकी पैसाको दोस्रो खन्डको ठेक्का आह्वान् सडकले चाँडै नै गर्ने तयारी गरेको छ ।
दोस्रो चरणमा हर्रे–बाह्रबिसे (कुमारीको कोल्पुखोला पुल) खण्डमा सडक विभागले गरेको डिपीआरको प्रारम्भिक प्रतिवेदनमा रू एक अर्ब पाँच करोड ६६ लाख २७ हजार २०३ रुपैयाँ लाग्ने उल्लेख गरिएको छ । उक्त प्रतिवेदनमा केही संशोधन भई रकम थप÷घट हुनसक्ने अनुमान सडक विभागले गरेको छ । उक्त खन्डको डिपीआर सडक विभागले कन्सल्टेन्सी लगाएर गरेको हो । यो सडकको जिलिङदेखि धार्केसम्मकै डिपीआर भने तयार भइसकेको छ ।
लोकसन्चार मार्ग रसुवागढी–गल्छी सडकको नुवाकोट जिल्लाको हालको बेलकोटगढी नगरपालिका–८ सिमखेत बालुवाखानीबाट शुरु भएर पुरानो जिलिङ गाविस भवनहुँदै केउरिनी हर्रे, बेलकोटगढी नगरपालिकाको कार्यालय बाघखोर हुँदै कुमरीबाट निर्माणाधीन बाह्रबिसेको मोटरेवल पुलबाट धादिङको आचार्य पोखरीबाट पृथ्वीराजमार्ग र त्रिभुवन राजपथको मिलनबिन्दु नजिक नौबिसेमा पृथ्वीराजमार्गमा जोडिनेछ ।
यो सडक त्रिभुवन राजपथबाट तराईसँग जोडिने हुनाले यसको निर्माण पूरा भएपछि पृथ्वीराजमार्गमा समस्या आए पनि नेपालको तराईबाट सिधैँ रसुवागढीसम्म र रसुवागढीबाट सिधै तराईसम्मको व्यापार तथा आवागमनमा सहज हुने भएको छ । रासस
प्रतिक्रिया दिनुहोस्