
अमिन एम्बुलेन्स सेवाका निर्देशक अव्दुलकदिर अव्दिर अहमान अदेमले सिन्ह्वा न्यूज एजेन्सीसँगको टेलिफोन कुराकानीमा विस्फोटका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या ८५ पुगेको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै जानकारी गराए ।
घटनामा गम्भीर घाइतेको संख्या अझै धेरै रहेकाले मृतक संख्या अझै केही बढ्नसक्ने उनले बताए ।
विस्फोटमा करिब २५० जना घाइते भएका र उनीहरूलाई राजधानीकै विभिन्न अस्पतालमा उपचार भैरहेको बताइएको छ ।
पछिल्ला केही महिना यता भएकामध्ये यो सबैभन्दा ठूलो आक्रमण भएको, अदेमले बताए ।
घटनापश्चात होटेलमा पुगेका प्रहरी अधिकारीले बताएका छन्, विस्फोटका कारण होटेलका कैयौं ढोका, झ्याल नराम्ररी चर्केका छन् । घटनास्थल वरपरका वासिन्दाले बताएअनुसार विस्फोटको आवाज निकै टाढासम्म सुनिएको र भवनहरू थर्किएका थिए ।
सोमालियाली राष्ट्रपति मोहम्मद अव्दुल्लाही मोहमदले विस्फोटमा मृत्यु भएका व्यक्तिको सम्झनामा तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् । एकै पटक ठूलो संख्यामा घाइतेहरूको उपचार गर्नु परेकाले स्थानीय अस्पतालमा रगतको अभाव भएको स्वास्थ्य संस्थाले जनाएका छन् ।
विस्फोटको आइतबारसम्म कसैले पनि जिम्मा लिएको छैन । (रासस/सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस्