
धनुषा जिल्लाको कमला नगरपालिका–३ पर्साका सुनितादेवी यादवको सात महिनाका छोरा शुभम् यादवलाई प्रहरीले सकुशल उद्धार गरेको हो ।
जिल्ला प्रहरी कार्यालयद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले अपहरण भएको १७ दिनपछि बच्चालाई सकुशल उद्धार गरिएको जानकारी दिए ।
यही असोज १२ गते राति आमासँगै सुतिरहेको सो बच्चालाई अपहरण गरी सिरहा जिल्ला लक्ष्मीपुर पतार गाउँपालिका–४ का लीलादेवी साह कलवारको घरमा शरीर बन्धक राखेको अवस्थाबाट उद्धार गरिएको हो ।
लीलादेवीको चारओटा छोरी भएको र छोराका लागि भारतको दिल्ली अनाथालयमा प्रयास गरे पनि कानुनी व्यवधानले बच्चा प्राप्त गर्न नसकेपछि सिरहा नगरपालिका–१० नरहरियाका दिलीप मण्डलको सहयोगमा दुई लाख ५० हजारमा अपहरणकारीबाट बच्चा लिएको बताइएको छ ।
अपहरणमा संलग्न कमला नगरपालिका–२ का राधाकृष्ण मण्डल, दिलीप मण्डल र लीलादेवीलाई पक्राउ गरिएको छ भने वीरेन्द्र यादव र बाला पासवान फरार रहेको जनाइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्