Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि पोखरामा बग्गी सेवा


0
Shares

पोखरामा दृश्यावलोकन, प्याराग्लाइडिङजस्ता पर्यटनका विभिन्न आयामद्वारा मनोरञ्जन लिने गरेका पर्यटकलाई बग्गी चढ्ने अवसर प्रदान गर्ने सोचका साथ बग्गी सेवा सञ्चालन गरिएको बग्गी एण्ड हर्स राइडिङ प्रालिका सञ्चालक शान्त शर्माले बताए ।

‘नेपालका सन्दर्भमा राजा महाराजा तथा उच्च पदस्थ अधिकारीले मात्र बग्गी चढ्ने परम्परा रहेको थियो,’ उनले भने, ‘आगामी दिनमा सर्वसाधारणका साथै पर्यटकले पनि यसको भरपुर मनोरञ्जन लिन सकून् भन्ने उद्देश्यले यो सेवा सञ्चालन गरेका हौँ ।’

बग्गी सेवा सञ्चालनको एक समारोहका बीच उद्घाटन गर्दै सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव एवं रासस सञ्चालक सदस्य गोविन्दसिंह भण्डारीले पर्यटकीय नगरी पोखरामा बग्गी सेवा सञ्चालनले यहाँका पर्यटकीय आयाममा नयाँ इँटा थपेको बताए ।

नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्य बासु त्रिपाठीले बग्गी सेवा सञ्चालनबाट पर्यटक थप लाभान्वित हुने बताउँदै यसलाई सुव्यवस्थित एवं प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

बग्गी एण्ड हर्स राइडिङ प्रालिका सञ्चालक मानबहादुर खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा रासस प्रशासन महाशाखा प्रमुख सोमनाथ लामिछाने, नेपाल ह्यान्डग्लाइडिङ एण्ड प्याराग्लाइडिङ एशोसिएसन पोखराका महासचिव शैलेन्द्र राउत, पोखराका पर्यटन व्यवसायी तथा सञ्चारकर्मीको उपस्थिति थियो । (रासस)