
पशुबाट मानिसमा र मानिसबाट पशुमा सजिलै सर्ने जुनोटिक रोग पशुको लसपस, दूध, दही, मासु र हावाको माध्यमबाट सर्ने गरेका छन् । नेपालमा जनावरबाट मानिसमा सर्ने ६९ प्रकारका रोग पत्ता लागेको छ ।
पटके, तुहिने, छारे, टाइफाइड, रेबिज, बर्डफ्लु, दाद, फिरफिरे, जापनिज इन्सेफलाइटिस, क्षयरोग, फिते जुका, इन्फुलन्जा, ट्राइकिभेला, ब्रसेल्ला, लिष्टेरिया, विएसइ सर्कोसिस्लगायतका दर्जनौँ रोग पशुबाट मानिसमा सर्ने गरेको जिल्ला पशुसेवा कार्यालय कन्चनपुरका वरिष्ठ पशु विकास अधिकृत डा.मदनसिंह धामीले बताए ।
उनका अनुसार पशुबाट मानिसमा ६० प्रतिशत रोग सर्ने गरेका छन् । यस्ता रोगको ७० प्रतिशत स्रोत नै पत्ता लागेको छैन । ७० प्रतिशत रोग व्यापारका माध्यमबाट र अन्तर्राष्ट्रिय पशुको व्यापारबाट मात्रै ७७ प्रतिशत रोग मानिसलाई सर्ने गरेको पाइएको छ ।
काटेको मासुलाई राम्ररी नपकाइ खाँदा, दूधलाई उमालेर नखाँदा र हावाको माध्यमबाट समेत ‘जुनोटिक’ रोग सर्ने गरेका छन् । छाडा चौपाया छाडने कार्यले पशुबाट मानिसमा सर्ने रोग महामारीका रुपमा अगाडि आउन सक्ने सम्भावना बढेको अधिकृत धामीले बताए ।
छाडा चौपायाबाट सर्ने रोगको उच्च जोखिममा कन्चनपुर अग्रस्थानमा रहेको छ उनले भने, ‘छाडा चौपायाको व्यवस्थापन समयमै नगरिए रोगको जोखिम बढ्ने खतरा छ ।’ जुनोटिक रोगको समूहमा पर्ने रेबिजबाट मात्रै कन्चनपुरमा तीन जनाको मृत्यु भइसकेको उनले बताए ।
रेबिजबाट मात्रै विश्वमा ५५ हजार मानिसले वर्षेनी ज्यान गुमाउनु परेको छ । जसमध्ये एसियामा मात्रै ९५ प्रतिशतले ज्यान गुमाउने गरेका छन् ।
हात नियमित सफा गर्ने, व्यवस्थित पशु पालनमा जोड दिने, सागपात राम्ररी सफा गरी पकाएरमात्र खाने, आन्द्राभुँडी र मासुसँगै नमिसाउने, पटके (एक्कासि मरेको) मरेको जनावरको छाला काढ्ने र चिरफार नगर्ने शंका लागेको कुकुरले टोकेमा घाउं सफा गर्ने र खोप लगाउने गरे ‘जुनोटिक’ रोगबाट केही हदसम्म बच्न सकिने पशु चिकित्सकको भनाइ रहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्