२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कसले बनायो उत्तर कोरियामा परमाणु मिसाइल ? यी हुन् किमपछिका शक्तिशाली दुई वैज्ञानिक


0
Shares

विगत २४ वर्षदेखि अमेरिकी प्रतिवन्ध र कुटनीतिक प्रयासलाई बेवास्ता गर्दै उत्तर कोरियाले कसको सहायताले परमाणविक कार्यक्रम पहिलेभन्दा झन् सफल र खतरनाक बनाएको छ त ?

उत्तर कोरियाको पारमाणविक कार्यक्रमलाई सफल बनाउने दुईजना होनाहार परमाणु वैज्ञानिक छन् । जसको क्षमता परमाणु भौतिकशास्त्रमा विश्वका अन्य वैज्ञानिकहरुभन्दा निकै बढी मानिन्छ ।

बीबीसी’का अनसार ती दुईजना परमाणु वैज्ञानिकहरु री होङसोप र होङ सङमु हुन् ।

पारमाणु अस्त्र अध्ययन केन्द्रका प्रमुखको रुपमा कार्यरत री होङसोप र उपनिर्देशकका रुपमा कार्यरत होङ सङमु उत्तर कोरियाका सर्वोच्च नेता किम जङ अनको महत्वाकांक्षा पूरा गर्ने जिम्मेवारी लिएका वैज्ञानिक हुन् ।

अहिले तिनै वैज्ञानिकहरुले उत्तर कोरियामा पारमाणविक कार्यक्रमलाई सफलतापूर्वक अगाडी बढाइरहेका छन् ।

जन हप्किन्स विश्वविद्यालयका अनुसन्धानकर्ता माइकल म्याडले भनेका छन्, ‘यी दुई वैज्ञानिकहरुसँग ठूलो क्षमता छ र उनीहरुले उत्तर कोरियाको परमाणु वैज्ञानिक समुदायको प्रतिनिधित्व गरेका छन् ।’

म्याडनका अनुसार किम जङअनका बुवाका एक निकट सल्लाहकार परमाणु भौतिकशास्त्रका पिता भनिने डो साङ रोक थिए । उनै परमाणु भौतिकशास्त्रका पिता डो साङ रोकका उत्कृष्ट विद्यार्थी नै उत्तर कोरियाका दुई वैज्ञानिकहरु री होङसोप र होङ सङमु हुन् ।

उत्तर कोरियाली परमाणविक केन्द्रहरु भ्रमण गरेका सीमित पश्चिमा वैज्ञानिकहरु मध्ये एक स्टान्डफर्ड विश्वविद्यालयको परमाणु विज्ञानका प्राध्यापक सेगफर्ड हेकर हुन् । उनले ले सन् २००४ देखि २०१० को बीचमा ‘योङब्योन न्युक्लियर साइन्टिफिक रिसर्च सेन्टर’को निर्देशक पदमा री होङ सोप भएका बेला उत्तर कोरियाको भ्रमण गरेका थिए ।

एक अन्तर्वार्तामा हेकरले भनेका छन्, ‘री होङ सोपले मेरा प्रश्नहरुको इमानदारीपूर्वक दिएको जवाफ र उनको क्षमता देखेर म निकै प्रभावित भएको थिएँ ।’

सन् २०१६ मा चौथो परमाणविक परीक्षणमा सफलता पाएपछि दुवै वैज्ञानिकहरुलाई नेता किम जङ अनले आधिकारिक समारोहकै आयोजना गरेर सम्मान गरेका थिए । उत्तर कोरियामा त्यसरी सम्मानित हुने उनीहरु पहिलो व्यक्ति हुन् ।

राष्ट्रसंघको सुरक्षा परिषद्को कालोसूचीमा रहेका ती दुबै वैज्ञानिकले परमाणु अस्त्र निर्माणका लागि ‘प्लुटोनियम’ उत्पादन गर्ने संस्थाको निरीक्षण गरेको बताइएको छ ।

राष्ट्रसंघको प्रतिवेदनअनुसार होङ सङमुले आफ्नो देशमा परमाणु अस्त्र विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको र री होङसोप नरसंहार गर्ने अस्त्रको विकासमा समर्पित रहेका छन् । एजेन्सी