१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


ताप्लेजुङमा राप्रपा र लिम्बूवान मञ्चका अध्यक्षसहितका पदाधिकारीले दिए सामूहिक राजीनामा


0
Shares

बुधबार संघीय लिम्बूवान मञ्चका जिल्ला अध्यक्ष कीर्तिमान मादेनको निवासमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष मादेनसहित पाँचजना र राप्रपाका जिल्ला अध्यक्ष चन्द्र मादेनसहित ११ जनाले संयुक्तरुपमा पार्टीबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

देशमा वाम एकता र प्रजातान्त्रिक शक्तिबीच तालमेल भइरहेको समयमा पहिचान र संघीयताको मुद्दा बोकेका शक्तिहरुको पनि एकता आवश्यक रहेको र सो शक्ति निर्माण गर्नका लागि पार्टीबाट राजीनामा दिएको कीर्तिमान मादेनले बताए ।

उनले आफूसहित पार्टीका केन्द्रीय सचिवालय सदस्य होम ताुम्बाहाम्फे, केन्द्रीय सदस्य नेत्र खतिवडा, जिल्ला सचिव विष्णु शेखर तुम्बाहाम्फे र संघीय लिम्बूवान शिक्षक परिषदका केन्द्रीय उपाध्यक्ष होमनाथ दाहालले राजीनामा दिएको जानकारी दिए ।

मादेनले पहिचान र संघीयताको मुद्दा बोकेको पार्टी संघीय समाजवादी फोरम नेपाल पनि हुनसक्नेतर्फ संकेत गर्दै आफूहरु सोही पार्टीमा जानेतर्फ घुमाउरो संकेतसमेत गरे ।

यस्तै, राप्रपाका जिल्ला अध्यक्ष चन्द्र मादेनले आफूसहित जिल्ला कमिटीका ११ जनाले सामूहिक राजीनामा दिएको बताए ।

मादेनसहित राप्रपाका जिल्ला प्रवक्ता युगराज गुरुङ, जिल्ला उपाध्यक्ष राजेन्द्र थापा, जिल्ला कमिटीका नवीन माबोहाङ, लोकेन्द्र तुम्बाहाम्फे, प्रदीप मादेन, मकरध्वज लिम्बू, जसबहादुर लिवाङ, राजन राई, नारायणसिं बोखिम, र सुरेस आवजुङले राजीनामा दिएको जनाइएको छ ।

सो पत्रकार सम्मेलनमा संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष मोती पालुङ्वाकोसमेत उपस्थिति रहेको थियो ।