
केसीसँगको भेटमा स्वास्थ्यमन्त्री बोहराले भने, ‘प्रधानमन्त्रीले अध्यादेश जारी गरी चिकित्सा शिक्षा ऐन ल्याउने तयारी गर्दैछन् । यसबारे विज्ञहरुसँग उनले छलफल गरी राय लिइरहेका छन् ।’
डा.केसी त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा १४ दिनदेखि चिकित्सा शिक्षा र सेवाको सुधारलगायतका माग राखी १३औं अनशनमा छन् । मन्त्री बोहराले डा.केसीलाई स्वास्थ्यसँग सम्बन्धित विषयमा मन्त्रालय सकारात्मक रहेको र अन्य विषयमा सहमति जुटाई बुधबार नै माग सम्बोधन हुने विश्वास दिलाएका थिए ।
डा.केसीले सरकारका तर्फबाट हरेक पटक सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने प्रवृतिका कारण आफू ढुक्क हुन नसकेको गुनासो गरे । उनले भने, ‘धेरै पटक धोका भयो, अब कार्यान्वयन सुनिश्चित नहुन्जेल सम्झौता गर्दैनौँ ।’
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले शिक्षामन्त्री गोपालमान श्रेष्ठ, पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापा, प्रा.केदारभक्त माथेमा र डा.केसीका वार्ता समिति सदस्य डा.अभिषेकराज सिंहसँग वार्ता गरिरहेका छन् ।
यही कात्तिक ६ गते बस्ने मन्त्रिपरिषद्को बैठकबाट अध्यादेश जारी गरी ऐन ल्याउने विषयमा छलफल भइरहेको बताइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्