लैखम गाउँः जहाँ देउसी–भैलो खेल्न पाइँदैन • Image Khabar Image Khabar


लैखम गाउँः जहाँ देउसी–भैलो खेल्न पाइँदैन


Imagekhabar
२ कार्तिक २०७४, बिहीबार ११:०७

लैखम गाउँः जहाँ देउसी–भैलो खेल्न पाइँदैन

लैखमनजिकैका गाउँमा तिहारको देउसी–भैली खेल्ने युवायुवतीको दर्जनौं समूह आएपनि लैखम गाउँमा भने आउन कसैले मान्दैनन् ।

वर्षौंदेखि महादेवको भैलो प्रत्येक दुई वर्षमा एकपटक गाईतिहारका दिनदेखि महिना दिनसम्म मनाउने भएकाले यहाँ अन्य भैली खेल्ने समूह आउन पाउँदैनन् ।

अन्य भैली खेल्ने टोली आएमा महादेवको भैलोले असर गर्ने भएकाले लैखम गाउँमा भैली–देउसी खेल्ने युवायुवती आउन नपाउने विगतदेखिको सामाजिक परम्परा नै रहेको लैखमका जयबहादुर खत्रीले बताए ।

महादेवको भैलो खेल्दा प्रत्येक दुई वर्षमा विशेष समूह बनाएर एक महिनासम्म खेल्ने र अन्त्यमा भैलो अन्त्य वा मार्ने गरिन्छ । भैलो मार्दा बेहुला–बेहुली बनाइ कृत्रिम विवाह गराउने गरिन्छ । यो भैलो हेर्न जिल्लाका अधिकांश गाउँबाट लैखममा दर्शक पुग्ने गर्दछन् ।

लैखमका प्रत्येक घरबाट भैलो मनाउनका लागि रकम र चामल संकलन गरिन्छ । बाटोमा हिँड्ने यात्रीबाट पनि रकम उठाउने गरिन्छ ।

यात्रीले भैलोलाई पैसा दिएबापत घरेलु अन्नबाट बनेको विशेष मिठाइ दिने चलनसमेत रहेको छ । लैखममा अहिलेसम्म दलितबस्ती बस्न सकेको छैन ।

दलितले यो गाउँमा बस्नेबित्तिकै अनिष्ट हुने विश्वासका कारण बस्न नसकेको खत्रीको भनाइ छ ।

गाउँमा रमाइलोका लागि नभइ ‘देवतालाई खुसी बनाउन’ महादेवको भैलो प्रत्येक दुई वर्षमा एकपटक खेल्ने गरिन्छ ।

यो ‘पर्व मनाउन छाडेमा महादेवले हानि गर्ने’ भएकाले आफूहरु यस्तो कार्य गर्न बाध्य भएको स्थानीयवासी बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस्