Logo ३ कार्तिक २०८३, मंगलबार | Tue Oct 20 2026


अस्पताल निर्माणका लागि २२ रोपनी जग्गा निःशुल्क


0
Shares

सोलुखुम्बु । जिल्लाको थुलुङ दूधकोसी गाउँपालिका केन्द्र मुक्लिमा निर्माण हुने अस्पतालका लागि २२ रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ ।

गाउँपालिकाले निर्माण गर्न लागेको दूधकोशी सामुदायिक अस्पतालका लागि उक्त जग्गा प्राप्त भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।

“स्थानीय समाजसेवी गोरे राईले अस्पतालका लागि जग्गा उपलब्ध गराउनुभएको छ”, अध्यक्ष राईले भने, “हामी उक्त जग्गामा सुविधासम्पन्न ५० श्ययाको अस्पताल निर्माणको अभियानमा छौं ।”

सुविधासम्पन्न अस्पताल निर्माणका लागि आगामी चैतमा श्रीमद् भागवत सप्ताहज्ञान बृहत् महायज्ञ आयोजना गरिने गाउँपालिकाले जनाएको छ ।

कुनै प्रकारको दुर्घटना तथा बिरामी हुँदा महङ्गो रकम खर्चेर हेलिकप्टर चार्टर गर्नुपर्ने जनताको बाध्यतालाई मध्यनजर गर्दै अस्पताल निर्माण गर्न लागिएको होे ।

अध्यक्ष राईले भने, “सोलुखुम्बुसहित आसपासका जनतालाई समेत सहज सुविधा प्रदान गर्नका लागि भ्यान्टिलेटरसहितको अस्पताल निर्माण गर्नेछौं ।”

महायज्ञबाट रु २० करोड रकम सङ्कलन गर्ने लक्ष्य राखिएको अध्यक्ष राईले बताए । रासस

Skip This