
काठमाडौं, असार १७ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४, खाल्लेकी नन्ददेवी बस्नेतका पति रोजगारीको सिलसिलामा विदेश पुगेका छन् ।
पति बिदेसिएपछि धेरै समयसम्म एक्लो महसुस गरेकी उनले अहिले आफ्नो काँधमा आइलागेको जिम्मेवारी परिवारका सदस्यसँग मिलेर पूरा गर्न थालेकी छन् ।
घरभित्र र बाहिरका हरेक काम परिवारका सदस्यसँग समन्वय गरेर सम्पन्न गर्दा बोझ र तनाव दुवैबाट मुक्त हुने उनी बताउँछिन्।
यस्तै, विदेशबाट पतिले पठाएको पैसाका विषयमा परिवारका सदस्यबीच झगडा हुन नदिन खाल्लेकी मुना बस्नेतले हिसाबकिताब पारदर्शी राख्न थालेकी छिन् ।
विदेशबाट आएको पैसाको हिसाब र परिवारसँग सम्बन्धित घरभित्र तथा बाहिरका समस्या सासूससुरालगायतलाई सुनाउन थालेपछि विवाद हुन छाडेको र सहज समाधान हुन थालेको उनको अनुभव छ ।
वैदेशिक रोजगारीका कारण निम्तिने समस्या र तनाव व्यवस्थापन गर्न मनोसामाजिक परामर्श दिन थालिएपछि समाजमा सकारात्मक सोचको विकास वैदेशिक रोजगारीका कारण निम्तिने तनाव र समस्या समाधान गर्न गाउँमै सञ्चालित मनोसामाजिक परामर्श कक्षामा सहभागी भएपछि नन्ददेवी र मुनाको पारिवारिक व्यवस्थापन क्षमतामा परिवर्तन आएको हो ।
‘घरको काम विभाजन गरेर गर्न थाल्यौं, हिसाबकिताब पनि परिवारका सबै सदस्यलाई जानकारी गराउन थाल्यौं,’ नन्ददेवीले भनिन्, ‘जसका कारण परिवारमा झगडा र तनाव हुन छाडेको छ। परामर्श कक्षामा सहभागी भएपछि हामी आफैंले परिवर्तन भएको महसुस गरेका छौं।’
मनोसामाजिक परामर्श कक्षामा सहभागी भएपछि पति विदेशमा रहेका समयमा समाज वा परिवारका सदस्यबाट लाग्ने आक्षेप, शंका, हेला र तिरस्कारका कारण उत्पन्न मानसिक तनाव झेल्न बाध्य महिला अहिले संयुक्तरुपमा तनाव व्यवस्थापनमा लागेका हुन् । -नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्