२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


३२ जिल्लामा वाम गठबन्धनको सिट बाँडफाँट टुंगियो, यस्तो छ भागवण्डा


0
Shares

क्षेत्र बाँडफाँट गर्न बनेको दुई दलको कार्यदलले ३२ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेको हो । कार्यदलको निर्णयलाई पार्टी एकता संयोजन समितिले समेत टुंगो लगाएको छ ।

दुई दलबीच संविधानसभा २०७० र स्थानीय चुनावका आधारमा निर्वाचन क्षेत्र बाँड्ने सहमति भएको थियो । पहिलो चरणको चुनाव हुने ३२ जिल्लामा एमालेले ५७ र माओवादीले ४३ प्रतिशत सिट पाएका छन् ।

कार्यदलमा सिन्धुपाल्चोक, रामेछाप, धादिङ लगायतको सिट बाँडफाँटमा सकस देखिएको थियो । सिन्धुपाल्चोक–१ माओवादीले लिएको छ भने २ एमालेको भागमा परेको छ ।

गोरखाका दुवै क्षेत्रसँगै रामेछाप माओवादीले लिँदा धादिङको दुबै क्षेत्र एमालेले लिएको छ । नुवाकोट–१ माओवादी र २ एमालेको भागमा परेको छ भने बाग्लुङ–१ एमाले र २ माओवादीले लिएको छ ।

दुई दलबीच भएको सहमति अनुसार ताप्लेजुङ, पाँचथर, संखुवासभा, खोटाङ, दोलखा, रसुवा, सिन्धुपाल्चोक–२, नुवाकोट–२, धादिङ, मनाङ, मुस्ताङ र म्याग्दी एमालेको भागमा परेको छ ।

यस्तै, बाग्लुङ–१, डोल्पा, मुगु, बझाङ, बैतडी, दार्चुला पनि एमालेको भागमा परेको छ ।

माओवादी केन्द्रको भागमा भोजपुर, सोलुखुम्बु, रामेछाप, सिन्धुपाल्चोक–१, नुवाकोट–१, लमजुङ, गोरखाका दुवै क्षेत्र, बाग्लुङ–२, रोल्पा, रुकुम पूर्व र पश्चिम, जुम्ला, कालिकोट, हुम्ला र जाजरकोट परेका छन् ।

उम्मेद्वारी टुंगिएका जिल्लाका उम्मेद्वारलाई पत्र दिने तयारी भइरहेको माओवादी केन्द्रले जनाएको छ ।