१७ जेष्ठ २०८२, शनिबार | Sat May 31 2025


प्रदूषणका कारण विश्वमा धेरै मृत्यु हुने मुलुकको सूचीमा नेपाल छैटौं स्थानमा


0
Shares

विश्वभर प्रदूषणसँग सम्बन्धित मुटुरोग र मस्तिष्कघातसम्बन्धी तथ्यांकलाई विश्लेषण गर्दा यो कहालीलाग्दो तथ्य देखिएको ल्यान्सेट जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

विश्वभर अकाल मृत्युका घटनामध्ये ६० प्रतिशत प्रदूषणसँग सम्बन्धित रोग जिम्मेवार रहेको उक्त अध्ययनको निचोड छ ।

मुटुरोग, मस्तिष्कघात र फोक्सोको क्यान्सरजस्ता नसर्ने रोगका कारण मृत्यु भएको प्रतिवेदनले देखाएको छ । अकाल मृत्युका लागि वायु र पानीसँग सम्बन्धित प्रदूषण मुख्य कारण मानिएका छन् ।

अकाल मृत्युका लगभग सबै घटना न्यून र मध्यम आय भएका मुलुकमा बढी भएका छन् । ती मुलुकमा हुने मृत्युमध्ये एक चौथाइको कारण प्रदूषणसँग सम्बन्धित रोग देखिएको हो ।

बंगलादेश र सोमालिया प्रदूषणबाट सबैभन्दा नराम्ररी प्रभावित भएको प्रतिवेदनले जनाएको छ ।

प्रदूषणका कारण धेरै मृत्यु हुने मुलुकको सूचीमा भारत पाँचौं र नेपाल छैटौं स्थानमा छ । ब्रुनाई र स्वीडेनमा प्रदूषणसँग सम्बन्धित मृत्युका सबैभन्दा कम घटना भएका छन् ।

सन् २०१५ मा वायु प्रदूषणका कारण विश्वभर ६५ लाखको अकाल मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।

वायु प्रदूषणपछि अकाल मृत्यु गराउने दोस्रो ठूलो कारण पानीसँग सम्बन्धित प्रदूषण रहेको र जसका कारण सन् २०१५ मा विश्वभर १८ लाख मानिसको ज्यान गएको थियो ।

कार्यस्थलमा भएको प्रदूषणबाट पनि अरु ८ लाख मानिसको मृत्यु भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । (एजेन्सी)