
शारीरिक विकासका साथै रोगसित लड्नसक्ने क्षमता वृद्धि गर्ने र कोलेस्ट्रोलसमेत नियन्त्रण गर्ने भएकाले भाइमसला स्वास्थ्यका लागि पनि निकै उपयोगी मानिन्छ ।
भाइटीकामा दाजुभाइलाई उपहारकारूपमा दिदीबहिनीले भाइमसला दिने प्रचलन रहेको छ ।
भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि काजु, किसमिस, ओखर, बदाम, चकलेट, सुपारी, नरिवल, मखनलगायत मसला दिने गरिन्छ ।
राजधानीका मुख्य व्यापारिक केन्द्रहरुमा तिनै सामान किन्ने महिला दिदीबहिनीको निकै भीडभाड रह्यो ।
दिदीबहिनीले दाजुभाइलाई मीठा–मीठा परिकार पकाएर खुवाउने चलन छ ।
तिहारमा ओखरको प्रयोग बढी हुन्छ । ओखरमा एन्टी अक्सिडेन्ट नामक तत्व हुन्छ, जसले कपाल तथा छालासम्बन्धी समस्या हटाउँछ भने ओखरमा पाइने फाइबरले पाचनक्रियालाई बलियो बनाउने चिकित्सक बताउँछन् ।
यस्तै, काजुमा ओलिक एसिड हुन्छ, जसले मुटुलाई स्वस्थ र बलियो राख्छ । बदामको प्रयोगले सुगर (मधुमेह)को मात्रामा कमी ल्याउने साथै मधुमेह र मुटुको रोगको उपचारमासमेत मद्दत गर्ने चिकित्सकहरु बताउँछन् ।
नरिवलमा भिटामिन ‘ए’, ‘बी’ र ‘सी’का साथै प्रोटिन, क्याल्सियम र फलाम पाइने भएकाले यी सबै तत्व शरीरका लागि निकै उपयोगी मानिन्छ ।
तिहारमा माला र भाइमसलाको व्यापार निकै हुन्छ । तिनै सामान किन्नेको भीडले राजधानीका मुख्य व्यापारिक केन्द्रमा आवागमनमै समस्या पर्नेगरी भीड उर्लेको हो ।
यसपटक तिहारमा भाइमसलाको तुलनामा माला, फलफूल र कपडाको मूल्य निकै महँगो भएको सर्वसाधारण बताउँछन् ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्