Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


सरकारमाथि जनताको विश्वसनीयता घट्दै गयो : सिंह


0
Shares

काठमाडौं, पुस २१ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारमाथि जनताको विश्वसनीयता घट्दै गएको बताएका छन् ।

४३औं राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेस काठमाडौं महानगरपालिका–२६ ले शनिबार यहाँ आयोजना गरेको कार्यक्रममा उनले दुईतिहाइको सरकारले संविधानको भावनाबमोजिम काम नगरेकाले जनताको विश्वसनीयता घटेको बताएका हुन् ।

बहुमतकोे बलमा सरकारले अदालतमा विचाराधिन मुद्दाका आरोपी रेशम चौधरीलाई शपथ खुवाएको र ‘वाइडबडी’ जहाज किनबेचमा भएको घोटलालाई पनि ओझेलमा पार्न खोजेको नेता सिंहले उल्लेख गरे ।

उनले राष्ट्रियता र प्रजातन्त्रलाई सन्तुलित राखेर अगाडि बढ्न बीपी कोइराला र गणेशमान सिंहले राष्ट्रिय मेलमिलापको नीति लिएर अगाडि बढेको बताए ।

प्रदेश सांसद जीवन डंगोलले बीपी कोइरालाले लिएको मेलमिलाप नीति आजको दिनमा पनि उत्तिकै सान्दर्भिक भएको बताए ।

‘विभिन्न दलसँग मेलमिलाप गरेका कारण मुलुक आज यो अवस्थामा आएको हो’–उनले भने ।

काठमाडौं क्षेत्र नम्बर–६ का सभापति श्यामकृष्ण खड्गी, कांग्रेस कामनपा–२६ का सचिव ख्याम तिवारीले सबै मिलेर काठमाडौं कांग्रेसको संगठन निर्माणमा लाग्नुपर्ने बताए ।

८ वर्ष लामो निर्वासन पछि वि.सं. २०३३ पुस १६ गते विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंहलगायत नेताले भारतबाट मेलमिलापको नीति लिएर आएको स्मरणमा हरेक वर्ष कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै आइरहेको छ ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका ८० नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । रासस

Skip This