काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकताको बाँकी काम टुंगो लगाउन अझै केही दिन लाग्ने भएको छ ।
नेकपा स्थायी कमिटीको बैठकले एकताको बाँकी काम टुंगो लगाउने गरी सुझाव दिन गठित कार्यदलले काम नसकेकाले तल्लो तहको एकीकरण प्रक्रियामा ढिलाई हुने भएको हो ।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएको आठ महिना वितिसक्दा पनि पूर्ण सांगठनिक एकता हुन सकेको छैन । जसका कारण तल्लो तहमा दुवै पार्टीका संगठनहरुले काम गरिरहेका छन् ।
संगठनात्मक एकताबारे गृहकार्य गर्न नेकपा स्थायी कमिटीको बैठकले महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा रामबहादुर थापा, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्रप्रसाद पाण्डे, बेदुराम भुसाल र लेखराज भट्ट रहेको कार्यदल गठन गरेको थियो । कार्यदललाई पुस मसान्तसम्म एकताको खाका तयार पार्ने जिम्मेवारी दिइएको थियो ।
तर कार्यदलले अहिलेसम्म पनि एकताको स्पष्ट खाका तयार पार्न सकेको छैन । कार्यदलले दिएको सुझावलाई स्थायी कमिटीमा छलफल गरी त्यसका आधारमा तल्लो तहको एकताको काम टुंगो लगाइने भए पनि प्रतिवेदन तयार नहुँदा केही समय लाग्ने देखिएको छ ।
कार्यदलका सदस्य योगेश भट्टराईले सुझावहरु संकलन भइरहेकाले आफूहरुले चाँडै प्रतिवेदन दिने बताए ।
गत जेठमा एकीकरण भए पनि नेकपामा हालसम्म केन्द्रीय सचिवालय, केन्द्रीय समिति, स्थायी समिति र प्रदेश समिति मात्र बनेका छन् ।
पोलिटब्यूरो र केन्द्रीय विभागसमेत बनेका छैनन् । त्यसले नेताहरुले काम र जिम्मेवारी नपाएको गुनासो गर्दै आएका छन् ।
त्यसैगरी जिल्ला र त्यो भन्दा तल्लो स्तरका कमिटीसमेत बनेका छैनन् । अधिकांश भ्रातृ संगठनको समेत एकता हुन नसक्दा ती संगठनले पनि प्रभावकारी काम गर्न सकेका छैनन् ।










प्रतिक्रिया दिनुहोस्