१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


फोटोमा नागरिकताविहीनको कथा प्रदर्शनी


0
Shares

महिला, कानून र विकास मन्च र नागरिकताबाट प्रभावित व्यक्तिको सन्जालद्वारा संयुक्तरुपमा आयोजित ‘नागरिकताबाट वन्चित नेपालीको कथासम्बन्धी फोटो प्रदर्शनी’ को राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले उद्घाटन गरे ।

सो अवसरमा आयोगका अध्यक्ष शर्माले संविधानमा व्यवस्था गरिएका मौलिक हकको प्रावधानलाई तीन वर्षभित्र कानून बनाएर लागू गनुपर्ने व्यवस्था गरिएको बताउँदै संविधान अनुकूल नागरिकतासम्बन्धी ऐन निर्माण गरी लागू गरेपछि नागरिकतासम्बन्धी समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

पूर्व प्रधानन्यायाधीश शर्माले सर्वोच्च अदालतबाट आमाको नामबाट नागरिकता दिने नजिर प्रतिपादन गरेता पनि त्यसको प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा समस्या भएको उल्लेख गरे ।

मन्चका अध्यक्ष तथा अधिवक्ता मीरा ढुंगानाले नेपालकै नागरिक भएर पनि नागरिकविहीन भएर बस्नुपर्ने नेपालीको पीडा सरकार तथा सरोकारवाला पक्षले बुझ्न आवश्यक भएको बताए ।

कार्यक्रममा मन्चद्वारा प्रकाशित ‘नागरिकताका सम्बन्धमा न्यायालयबाट भएका केही फैसलाको सारसंक्षेप तथा प्रतिपादित नजिर’ नामक पुस्तिका सार्वजनिक गरिएको थियो ।

प्रदर्शनीमा ५५ ओटा तस्वीर राखिएका छन् । प्रदर्शनीमा राखिएका तस्वीरमा बाबु भागेका, विदेशी नागरिकसँग विवाह गरेका तर नेपालमा बसेका महिलाबाट जन्मिएका सन्तानले नागरिकता नपाएको अवस्था दर्शाइएको छ । रासस