Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


कोठामा आगो लगाएर लोग्नेको हत्या आरोपमा श्रीमती पक्राउ


0
Shares

सोमबार राति मध्यपुरथिमि नगरपालिका–६ पुराना ठिमीस्थित मैयाँ बुढाथोकीका घरमा डेरामा बस्दै आएका सिन्धुपाल्चोक सिपामंखा घर भएका ४० वर्षीय विदुर नेपालको आगलागीबाट मृत्यु भएको हो ।

प्रहरीको अनुसन्धानबाट कान्छी श्रीमती माइत गएका बेलामा नेपालकी जेठी श्रीमती गीताले कोठामा आगो लगाइदिँदा सोही आगामा परेर उनको मृत्यु भएको खुलेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

आफूलार्ई बेवास्ता गरेको र कान्छी श्रीमतीलाई सुखसयलले राखेको जनाई आवेगमा आएर गीताले श्रीमान्लाई कोठामा राखेर आगो लगाई फरार भएको प्रहरीको भनाइ छ ।

अभियुक्त गीतालाई जगातीबाट पक्राउ गरी थिमि प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक प्रज्ज्वल महर्जनले जानकारी दिए । आगलागीमा परेका नेपालको उपचारका लागि मध्यपुर अस्पताल लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि नर्भिक अस्पताल लगिएको र त्यहाँ पनि उपचार हुन नसकेपछि कीर्तिपुरस्थित बर्न मोडेल अस्पतालमा लग्दा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । रासस