१८ जेष्ठ २०८२, आइतबार | Mon Jun 2 2025


यमनमा हैजाबाट २ हजार जनाको मृत्यु, नियन्त्रणको लागि विशेष अभियान


0
Shares

गत अप्रिलदेखि अहिलेसम्म मृत्यु हुनेहरुको संख्या दुई हजार १५१ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले हालै जनाएको थियो । यहाँको अवस्था अत्यन्तै नाजुक रहेकोले हैजा नियन्त्रणका विभिन्न कार्यक्रमहरु सन्चालन गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्राय सबैजसो प्रान्तमा हैजाको किटाणू पाइएको बताइएको थियो । हैजाबाट आठ लाखभन्दा बढी नागरिक प्रभावित भएका थिए । विश्व स्वास्थ्य संगठनको विशेष पहलमा यो कार्यक्रम सन्चालन गरिएको हो ।

हैजाको प्रकोप फैलिएका प्राय स्थानहरु हुथी विद्रोहीको नियन्त्रणमा रहेका छन् । रेडक्रसको अन्तर्राष्ट्रिय समितिले ती स्थानमा औषधि वितरण, स्वस्थ पानीको बारेमा जनचेतना अभिबृद्धि कार्यक्रम, सरसफाई र अस्पतालमा श्यैयाबृद्धि तथा स्वास्थ्य कार्यकर्ताहरुको उपलब्धताजस्ता कार्यक्रमहरु सुरु गरिएको बताइएको छ ।

यमनमा साढे दुई वर्षदेखि युद्ध चलिरहेको छ । युद्धका कारण खानेपानी तथा सरसफाई सम्वन्धी संरचना क्षतिग्रस्त भएका छन् ।

त्यसैगरी, आधाभन्दा बढी स्वास्थ्य सेवासम्वन्धी संरचना पनि सेवा प्रवाह गर्न नसक्ने अवस्थामा रहेका छन् ।

लामो समयदेखिको यहाँको द्वन्द्वका कारण स्वास्थ्यका संरचनाहरुमा क्षति पुगेको र नागरिकलाई आधारभूत स्वास्थ्य सेवा र सुरक्षित खानेपानीको पनि उपलब्धता हुन नसकेका कारण यस्तो अवस्था आएको अधिकारीहरुको भनाई छ ।

हुथी विद्रोहीको नियन्त्रणमा रहेका ती क्षेत्रहरुमा दाताहरुले पनि सहायता उपलब्ध गराउन सकेका छैनन् । यसका कारण हैजाका साथै विभिन्न अरु पानीजन्य रोगहरु बालबालिकामा बढी देखा परेको छ । (रासस/सिन्ह्वा)