१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024


‘रेडियसन मेसिन राख्ने ठाउँको अभावले मेसिन ल्याउन सकिएन’ (भिडियो)


0
Shares

प्रज्ञा तिमल्सिना र राजेन्द्र नापित (इमेज)

काठमाडौं, पुस २० । नेपाल अर्बुद रोग निवारण संस्थाको २८औं केन्द्रीय सभा शुक्रबारदेखि भक्तपुरमा सुरु भएको छ ।

सभामा क्यान्सर रोग निवारणको विषयमा छलफल हुनेछ ।

२८ वर्षअघि श्रीमती र १८ वर्षीया छोरीलाई क्यान्सर रोगका कारण गुमाएका नेपाल अर्बुद्ध रोग निवारण संस्थाका पूर्वअध्यक्ष कर्ण शाक्य ती घटना सम्झेर निकै भावुक भए ।

श्रीमती र छोरी गुमाएको पीडाबाट बाहिर आउन उनलाई तीन महिना लागेको उनले बताए ।

त्यसपछि आफूलेजस्तो पीडा अरुले भोग्नु नपरोस् भन्दै क्यान्सर रोगको उपचार नेपालमै हुनुपर्छ भन्ने अभियानमा लागेको पनि उनले बताए ।

नेपालमा पहिलोपटक क्यान्सरको उपचार गराउने रेडियसन मेसिन ल्याएर भक्तपुर क्यान्सर अस्पताल स्थापना गराउन पनि शाक्यको निकै ठूलो भूमिका रहेको छ ।

कार्यक्रममा आफूले स्थापना गरेको भक्तपुर क्यान्सर अस्पतालले हजारौं क्यान्सरपीडितलाई नयाँ जीवन दिएको भन्दै शाक्यले खुसी व्यक्त गरे ।

कार्यक्रममा संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भक्तपुर क्यान्सर अस्पताललाई प्रदान गर्ने भनी घोषणा गरेको रेडियसन मेसिन राख्ने ठाउँको अभावका कारण मेसिन ल्याउन नसकेको गुनासो गरे ।

हाल अस्पतालमा एकमात्र रेडियसन मेसिन छ । तर, सहयोगस्वरुप आउने मेसिन राख्ने भने ठाउँ अभाव रहेको उनले बताए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अस्पताललाई रेडियसन मेसिन राख्ने ठाउँ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

आफूले पनि आमा र छोरीलाई क्यान्सरकै कारण गुमाएको भन्दै दाहालले क्यान्सर रोगका बिरामीलाई प्रदान गर्दै आएको एक लाख रकमलाई ५ लाखसम्म पुर्‍याउन कोसिस गर्ने बताए ।

कार्यक्रममा सुर्तीजन्य पदार्थमा लगाइएको करबाट उठेको रकम क्यान्सर रोगको उपचारमा खर्च गर्नुपर्ने प्रावधान रहेपनि अहिलेसम्म उक्त रकम नपाएको भन्दै गुनासो गरिएको थियो ।

दाहालले भने स्वास्थ्य कर कोषमा रहेको रकम अस्पतालहरुमा पठाउन पहल गर्ने आश्वासन पनि दिए ।

सो अवसरमा क्यान्सर रोगलाई जितेको भन्दै वरिष्ठ सन्चारकर्मी कृष्णा ताम्रकारलाई सम्मानसमेत गरिएको थियो ।

भिडियो हेर्नुहोस्