Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


नेविसंघद्वारा साढे ६ लाख नयाँ सदस्यता वितरण


0
Shares

काठमाडौं, पुस २० । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघले देशभर ६ लाख ५० हजार नयाँ सदस्यता वितरण गरेको छ । 

बाह्रौँ महाधिवेशन नजिकिएसँगै नेविसंघले काठमाडौँ उपत्यकाबाहेक ७४ जिल्लामा नयाँ सदस्यता वितरण गरेको हो । नेविसंघका अध्यक्ष नैनसिंह महरले नेविसंघलाई केन्द्रदेखि गाउँँ र टोलसम्म पुर्‍याउन नयाँ सदस्यता वितरणलाई प्राथमिकता दिएको बताए ।

‘मुलुकको शिक्षा क्षेत्रमा देखिएको विकृति विसङ्गति हटाई आगामी निर्वाचनमा कांग्रेसको पक्षमा जनमत सिर्जना गर्न सदस्यता वितरणलाई देशभर पुर्‍याउन लागेका हौँ,’ उनले भने ।

लामो समयको विधान र नियमावली विवादपछि विधान पास भएको नेविसंघले पुस २८ देखि ३० गतेसम्म १२औँ महाधिवेशनको तालिका तोकेको थियो । 

नेविसंघले तोकेको निर्वाचन कार्यतालिका अनुसार मंसिर २२ गतेभित्र देशभरका सबै माध्यमिक तथा उच्च माध्यमिक विद्यालयमा अधिवेशन गर्नुपर्ने, मंसिर २५ भित्र स्थानीय गाउँ नगरको अधिवेशन गर्नुपर्ने, पुस ८ भित्र उपत्यका भित्रका सबै क्याम्पस र विश्वविद्यालयको अधिवेशन गर्नुपर्ने, पुस १४ भित्र सबै जिल्लाको अधिवेशन गर्नुपर्ने र पुस २० भित्र सबै प्रदेशको अधिवेशन सम्पन्न गर्नुपर्ने रहेको छ । 

निर्वाचन आउन केही दिनमात्र बाँकी हुँदा देशभरका १५ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको अध्यक्ष महरले जानकारी दिए । नेविसंघ अहिले महाधिवेशनमय हुँदै गएको उनको भनाइ छ ।

निर्धारित समयमा महाधिवेशन सम्पन्न नभए पनि छिट्टै महाधिवेशन सम्पन्न हुने गरी नेविसंघले काम गरिरहेको उनले बताए । (रासस)