झापामा प्रहरीको गोलीबाट एकजनाको मृत्यु, तीन घाइतेको अवस्था गम्भीर • Image Khabar Image Khabar


झापामा प्रहरीको गोलीबाट एकजनाको मृत्यु, तीन घाइतेको अवस्था गम्भीर


Imagekhabar
१० कार्तिक २०७४, शुक्रबार १७:१९

झापामा प्रहरीको गोलीबाट एकजनाको मृत्यु, तीन घाइतेको अवस्था गम्भीर

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिकाका नरेश थापा रहेका छन् । अरु तीनजना घाइतेको अवस्था गम्भीर रहेको जनाइएको छ ।

अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको शंकास्पद मृत्युलाई लिएर शुक्रबार बिहानैदेखि बिर्तामोड क्षेत्र तनावग्रस्त बन्दै आएकोमा अपराह्न स्थानीय प्रशासनले कर्फ्यु लगाएपछि स्थानीय आक्रोशित बनेका हुन् ।

कर्फ्यु उल्लंघन गरी प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले प्रहरीचौकीमा आगजनी गर्ने तथा सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेपछि गोली चलाउनुपरेको प्रहरीले दाबी गरेको छ ।

प्रदर्शनकारीको आक्रमणबाट केही प्रहरीसमेत घाइते भएको पनि प्रहरीको दाबी रहेको छ ।

बालकको मृत्युको अनुसन्धानलाई प्रहरीले गम्भीररुपमा नलिएको भन्दै स्थानीय वासिन्दाले प्रदर्शन गर्दै आएका थिए भने दिउँसोदेखि प्रशासनले बिर्तामोड क्षेत्रमा कर्फ्यु लगाएको छ ।

आन्दोलनकारी र प्रहरीबीचको झडप हिंसात्मक हुँदै गएपछि स्थितिलाई सामान्यकीकरण गर्न स्थानीय प्रशासनले बिर्तामोड, मुक्तिचोकको दुई किलोमिटर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।

शुक्रबार दिउँसो साढे १ बजेपछि अर्काे आदेश नभएसम्मका लागि कर्फ्यु लगाइएको झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।

प्रशासनले बिर्तामोड पूर्व बसपार्क छिर्ने बाटो, पश्चिममा चारपाने, उत्तरमा महानन्दचोक र दक्षिणमा बिर्ताबजारसम्मलाई निषेधित क्षेत्र घोषणा गर्दै कर्फ्यु लगाएको छ ।

शुक्रबारै बालक लक्ष्मण ‘हत्या’को विरोधमा निकालिएको र्‍यालीमा झडप हुँदा प्रहरीले तीन राउन्ड हवाई फायर गरेको थियो । भीड नियन्त्रण गर्न प्रहरीले दुई दर्जनभन्दा बढी सेल अश्रुग्यास पनि प्रहार गरेको थियो ।

प्रहरीले आन्दोलनमा उत्रिएकामध्ये केहीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

बडादसैंको टीकाका दिन हराएका बालक लक्ष्मणको शव भोलिपल्ट बिर्तामोड–१ वैैसावाडीस्थित पोखरीमा डुबेको अवस्थामा फेलापरेको थियो ।

परिवारले लक्ष्मणको हत्याको आशंकामा तीनजनाविरुद्ध किटानी जाहेरी दिएको थियो । प्रहरी अनुसन्धानप्रति रुस्ट भएका परिवार र स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्