Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


‘वाइडबडी’ खरिद प्रकरणमा सरकारले छुट्टै छानबिन गर्ने, रेशम चौधरीको शपथ स्वाभाविक’


0
Shares

काठमाडौं, पुस १९ । सरकारले ‘वाइडबडी’ विमान खरिदमा भएको भनिएको भ्रष्टाचारको छानबिन गर्न अलग्गैै समिति बनाउने भएको छ ।

बिहीबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगमा आयोजित नियमित पत्रकार सम्मेलनमा सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लेखा समितिअन्तर्गत्को उपसमितिको प्रतिवेदन अन्तिम फैसला नभएको भन्दै सरकारले छुट्टै समिति बनाएर छानबिन गर्ने तयारी गरेको जानकारी दिए ।

समितिमा प्रतिवेदन बुझाउनुअघि सार्वजनिक गरेको भन्दै उनले त्यसकै आधारमा कसैलाई निलम्बित वा कारबाही नगर्ने प्रस्ट पारे ।

बिहीबारै सांसद पदको शपथग्रहण गरेका रेशम चौधरीको शपथलाई स्वाभाविक भन्दै सरकारका प्रवक्ता मन्त्री बाँस्कोटाले न्यायिक निरुपण र राजनीतिक विषय फरक भएकाले चौधरी दोषी भए कानुनअनुरुप सजाय भोग्नुपर्ने बताए ।

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक

सो अवसरमा यही पुस १३ र १६ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेका १३ ओटा निर्णय सार्वजनिक गरिएको थियो ।

जसअनुसार छोरा–छोरीले आफूले कमाएको निश्चित प्रतिशत बाबुआमाको खातामा जम्मा गरिदिनुपर्ने प्रावधानसहितको ज्येष्ठ नागरिक ऐन संशोधनसम्बन्धी विधेयक संसदमा लगिनेछ ।

सार्वजनिक पद धारण गरेका, निजी संस्थाबाट नियमति पारिश्रमिक लिने, स्वरोजगार व्यापार व्यवसाय गर्ने र निवृत्तिभरण पाउनेहरुले बाबुआमाको खातामा रकम जम्मा गर्नुपर्नेछ ।

ज्येष्ठ नागरिकलाई दुर्व्यवहार गरे वा झुक्याएर सम्पति लिए त्यो दन्डनीय हुने व्यवस्थासमेत विधेयकमा रहेको बताइएको छ ।