१ फाल्गुन २०८१, बिहिबार | Fri Feb 14 2025


‘वाइडबडी’ खरिद प्रकरणः दोषी ठहर हुन लामो छ प्रक्रिया


0
Shares

काठमाडौं, पुस १९ । बहुचर्चित ‘वाइडबडी’ विमान प्रकरणको प्रतिवेदनमाथि शुक्रबार बस्ने सार्वजनिक लेखा समितिको पूर्णबैठकमा छलफल हुँदैछ ।

विमान खरिद प्रकरणमा चार अर्ब ३५ करोड ५६ लाख रुपैयाँ नोक्सानी भएको भन्दै समिति सदस्य राजेन्द्रकुमार केसीको संयोजकत्वमा गठित उपसमितिले प्रतिवेदन पेस गरेपछि अहिले सरकार अप्ठ्यारोमा परेको छ ।

तर, प्रधानमन्त्रीले भने उपसमितिको भूमिकामा प्रश्न उठाएका छन् ।

बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बदनियतपूर्वक मिलोमतो गरेको भन्दै उपसमितिले प्रतिवेदन दिएपछि सरकार अप्ठ्यारोमा परेको हो ।

यो प्रतिवेदन अन्तिम नभएपनि प्रतिवेदन सार्वजनिक भइसकेपछि यसमा उपसमितिले कारबाहीको सिफारिस गरेका व्यक्तिलाई कानुनबमोजिम कारबाही हुनुपर्ने आवाज उठ्न थालिसकेको छ ।

प्रतिवेदन शुक्रबार बस्ने समितिको पूर्णबैठकमा छलफल भएर समितिले अन्तिम निर्णय लिन बाँकी नै छ ।

त्यसपछि पनि दोषी ठहर हुन सरकार एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेर अदालतमा मुद्दा दर्ता भइ अन्तिम फैसला आउनुपर्नेछ ।

उपसमितिले लगाएको आरोपका सम्बन्धमा कुरा गर्न खोज्दा नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, पूर्वमन्त्री जितेन्द्रनारायण देव, सचिव प्रेमकुमार राईलगायतले समितिको अन्तिम प्रतिवेदन आएपछिमात्र आधिकारिक धारणा सार्वजनिक गर्ने बताएका छन् ।

वाइडबडी विमान प्रकरणमा संसदमा रहेका सत्तापक्ष र विपक्षीपक्ष सांसदहरु मुछिएका छन् ।

वर्तमान मन्त्री अधिकारी सत्तारुढ दलका भइहाले । पूर्वमन्त्री जीवनबहादुर शाही र जितेन्द्र देव प्रमुख प्रतिपक्षी दलका हुन् ।

समितिको पूर्णबैठकले अन्तिम निर्णय लिनुभन्दाअगाडि नै बिहीबार संसदमासमेत सांसदहरुले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सत्यतथ्य जानकारी गराउनुपर्ने माग गरेका कारण पनि सरकार अप्ठ्यारोमा परेको थाहा हुन्छ ।

तर, नेपाल टेलिभिजनको ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले ‘वाइडबडी ल्याउने प्रक्रिया आफू प्रधानमन्त्री भएपछि भएको होइन’ भने ।

उनले यदि भ्रष्टाचार भएको छ भने उच्चस्तरीय छानबिन गराउने भन्दै समितिले निर्णय गर्नुअघि नै सबै व्यहोरा सार्वजनिक हुनु आपत्तिजनक रहेको बताए ।

उपसमितिको भूमिकामा प्रश्न गर्दै उनले ‘समितिमा प्रतिवदेन बुझाउनुअघि कहाँ–कहाँ बुझाइयो ?’ भनी प्रश्नसमेत गरेका छन् ।

भिडियो हेर्नुहोस्