Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


बढे पर्यटक


0
Shares

नवीन शर्मा (इमेज)

काठमाडौं, पुस १९ । नेपालको पर्यटन प्रवद्र्धनका लागि सन् २०१८ महत्वपूर्ण सावित भएको छ ।

यस वर्ष हालसम्मकै सवैभन्दा बढी झन्डै ११ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डले क्रमिकरुपमा मुलुकमा सहज परिस्थिति बन्दै गएकाले पर्यटकको संख्यामा वृद्धि भएको जनाएको छ ।

सन् २०१८ को अन्तिमसम्म झन्डै ११ लाख पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डको तथ्यांक छ ।

यसअघि, सन् २०१७ मा नेपाल आउने पर्यटकको संख्या १० लाख थियो । यसैगरी, सन् २०१६ मा ७ लाख ५३ हजार विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।

सन् २०१८ को तथ्यांकअनुसार हवाईमार्गबाट नेपाल भित्रने पर्यटकको संख्या ९ लाख ५७ हजार ५८९ रहेको छ भने स्थलमार्गबाट आउनेको संख्या एक लाख ४२ हजार ४१२ रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

यसपटक नेपाल भ्रमण गर्ने पर्यटकमध्ये चिनियाँ पर्यटक दोस्रो नम्बरमा परेका छन् । चीनबाट नेपाल आउने पर्यटकको संख्या एक लाख ४९ हजार ७९० रहेको छ । चिनियाँ पर्यटकको यो संख्या हालसम्मकै सबैभन्दा बढी हो ।

यसैगरी, तेस्रो नम्बरमा अमेरिकी पर्यटक छन् । उनीहरुको संख्या ८९ हजार २३१ रहेको छ ।

यसबाहेक अरु विभिन्न मुलुकहरुबाटसमेत धेरै संख्यामा पर्यटक नेपाल भित्रिएको बोर्डले जनाएको छ ।

आन्तरिक पर्यटकहरुको संख्यामा पनि उत्साहजनक वृद्धि हुँदै गइरहेको बोर्डको ठम्याइ छ ।

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारी घोषणालाई सघाउ पुग्नेगरी सरकारले पर्यटन प्रवद्र्धनका लागि थप १०० ओटा नयाँ गन्तव्य क्षेत्र घोषणा गरिसकेको छ ।