काठमाडौं, पुस १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आर्थिक विकासमा केन्द्रित रहेको बताएका छन् ।
ललितपुरको बालकुमारीमा निर्माण हुन लागेको फोहरपानी प्रशोधन केन्द्रको बिहीबार शिलान्यास गर्दै उनले सरकार तीव्रगतिले आर्थिक विकासमा केन्द्रित भएको बताए ।
प्रधानमन्त्री ओलीले सरकार सही बाटोमा, सही ढंगले अगाडि बढेको भन्दै सरकारमाथि कसैले दोष लगाउने ठाउँ नभएको जिकिर गरे ।
‘आँखा चिम्लेर हिँड्या छैन’–उनले भने–‘यो भोलि उठी कहाँ जाने केही थाहा छैन भनेर हिँड्या सरकार होइन । भोलि उठेर कता जाने, आज कता जाँदैछु, थाहा पाएर हिँडिराख्या छ । थाहा पाएर हिँड्छ ।’
सरकारका सबै काम पारदर्शी भएकाले आंशका गर्ने ठाउँ नरहेको उनको भनाइ छ ।
उनले केही समूह सरकार असफल पार्ने षडयन्त्रमा लागे पनि सबै षडयन्त्र चिरेर अगाडि बढ्ने दृढता व्यक्त गरे ।
कार्यक्रममा खानेपानीमन्त्री बीना मगरले फोहरपानी प्रशोधन केन्द्रको तीन महिनामा निर्माण सम्पन्न हुने जानकारी दिइन् ।
उनले ६० करोड ७५ लाख रुपैयाँमा निर्माण हुन लागेको प्रशोधन केन्द्रबाट प्रतिदिन एक करोड ७५ लाख लिटर पानी प्रशोधन हुने बताइन् ।
आयोजनाबाट तीन लाख ८० हजार मानिस प्रत्यक्ष लाभान्वित हुनेछन् । प्रशोधित पानी सरसफाइ र सिँचाइका लागि प्रयोग गरिने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्