
टाउको जोडिएका जुम्ल्याहा नाबालक मध्ये एक दुई वर्षीय जागाले आँखा खोलेर खुट्टा चलाउनुका साथै सामान्य प्रतिक्रिया जनाउन सकेको शल्यक्रियामा संलग्न चिकित्सकहरुले बताएका छन् ।
जागा अहिले भेन्टिलेटरमा रहेको र मिर्गौलामा समस्या देखिएकाले उनलाई दैनिक डायलाइसिस गर्नुपर्ने अबस्था छ । तर, उनका भाई कालिया भने अझै अचेत छन् र शल्यक्रियाकै प्रभावमा रहेका छन् ।
‘बीबीसी’का अनुसार जन्मिँदा उनीहरुको रक्तनली र मस्तिष्कका तन्तुहरु जोडिएका थिए । गत साता चिकित्सकको ३० जनाको समूहले १६ घन्टाभन्दा बढी समय लगाएर टाउको जोडिएका उनीहरुलाई अलग गरिएको थियो ।
सरकारी अस्पतालमा गरिएको यस्तो शल्यक्रिया भारतमै पहिलो पटक भएको भनिएको छ । चिकित्सकहरुले बालकहरुमा देखिएको प्रगतिबाट खुशी भएको बताएका छन् ।
भारतको उडिसाको एउटा गाउँमा यी जुम्ल्याहा नाबालककोे जन्म भएको थियो । ‘क्रेनियोपिगस’ नामक समस्या प्रत्येक ३० लाख मध्ये एकमा देखा पर्छ । जसमध्ये ५० प्रतिशत शिशुहरु जन्मिएको २४ घन्टामा मृत्यु हुने चिकित्सकहरुले बताएका छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्