-हरि शर्मा/ईमेज
नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीबजारमा भइरहेका धेरैजसो निर्माणका कामहरु गुणस्तरहीन भएको पाइएको छ ।
काममा मनोमानी देखिँदासमेत सम्बन्धित निकायले नजरअन्दाज गरेपछि स्थानीयवासी आक्रोशित बनेका छन् ।
नवलपरासीको सदरमुकाममा अहिले ‘सघन शहरी कार्यक्रम’ अन्तर्गत २ अर्बको लागतमा विभिन्न विकास निर्माणका कामहरु भइरहेका छन् ।
जसमध्ये अहिले सदरमुकामको परासी–सुनवल सडक खण्डअन्तर्गत ‘फोर लेन’सहितको डेढ किमि सडक र नाला विस्तारका लागि महालक्ष्मी सुनकोशी वल्र्डवाइड जेभी काठमाण्डौंले १४ करोड रुपैयाँमा ठेक्का लिएको छ ।
त्यसैगरी झरही खोलादेखि मञ्जरीया चोक, महेशपुर चोक र वाइपास रोडमा सडक निर्माणका लागि करिब २४ करोडको लागतमा पार्वती निर्माण सेवा प्रा.लि. काठमाडौंले ठेक्का लिएको छ । ती ठाउँमा भइरहेका काममा गुस्तरहीन सामग्रीको प्रयोग भएको स्थानीयवासीको आरोप छ ।
गुणस्तरहीन सामग्री प्रयोग भएको स्वयं निर्माण व्यवसायी र इन्जिनियरले समेत स्वीकार गरिसकेपछि ती ठाउँको निर्माण कार्य भत्काइएको छ ।
केही स्थानमा भइरहेका निर्माण कार्यमा गुणस्तरहीन सामग्री प्रयोग भएको देखिएको सघन शहरी तथा भवन निर्माण आयोजना फिल्ड कार्यालय परासीका इन्जिनियर माधव कटुवालको भनाइ छ ।
यीबाहेकका अन्य क्षेत्रका काममा पनि यस्तो चलखेल र अनियमितता भइरहेको स्थानीयवासीको आरोप छ ।
हरेक स्थानीय तथा जिल्ला तहमा भइरहेका कामको अनियमितता छानबिन गर्ने विभिन्न समितिहरु पनि छन् तर ती समितिले दायित्वबोध गरेको महसुस धेरैलाई हुन सकेको छैन ।









प्रतिक्रिया दिनुहोस्