९ असार २०८२, सोमबार | Mon Jun 23 2025


निर्वाचन क्षेत्र बाँडफाँटः सर्लाहीमा एमाले नेताको असन्तुष्टि, माओवादी नेता मख्ख !


0
Shares

वाम गठबन्धन बनाएका एमाले र माओवादी केन्द्रले आगामी निर्वाचनमा तालमेल गर्दैछन् ।

सोही तालमेलअनुसार जिल्लाका निर्वाचन क्षेत्र बाँडफाँटका लागि केन्द्रमा भएको सहमतिप्रति एमाले सर्लाहीका नेताहरु रुष्ट बनेका हुन् ।

सर्लाहीमा चारओटा निर्वाचन क्षेत्र रहेका छन् । त्यसमध्ये एमालेले एक र माओवादीले दुई निर्वाचन क्षेत्र लिने र एउटा निर्वाचन क्षेत्रमा संयुक्तरुपमा स्वतन्त्र उम्मेदवारलाई टिकट दिने निर्णय भएको बताइएको छ ।

जसअनुसार क्षेत्र नम्बर–१ एमाले, क्षेत्र नम्बर–२ स्वतन्त्र उम्मेदवार, क्षेत्र नम्बर–३ र ४ माओवादी केन्द्रले लिने निर्णय भएको हो । केन्द्रीय नेताहरुले गरेको यो निर्णयप्रति एमाले सर्लाहीका नेताहरु सन्तुष्ट छैनन् ।

एमाले सर्लाहीका अध्यक्ष रेवती पन्तले केन्द्रीय नेताहरुले एउटामात्रै निर्वाचन क्षेत्रका लागि सहमति गरेकोप्रति आफू आश्र्चयमा परेको बताए ।

उनले जिल्ला कमिटीले सिफारिस गरेकोभन्दा फरक क्षेत्रमा क्षेत्र बाँडफाँट भएको बताए ।

सिट वितरण न्यायोजित नभएको भन्दै नेता पन्तले यो निर्णयले आमकार्यकर्ता निराश भएको बताए ।

माओवादी केन्द्रका जिल्लास्तरीय नेताहरुले भने निर्वाचन क्षेत्र बाँडफाँटको विषयमा सकारात्मक प्रतिक्रिया जनाएका छन् ।

माओवादी नेता कमल बुढाथोकीले आफ्नो पार्टीले दुई निर्वाचन क्षेत्र लिएको र क्षेत्र नम्बर–२ मा उठ्ने भनिएका स्वन्त्र उम्मेदवार पनि माओवादीकै चुनाव चिह्न लिएर चुनाव लड्ने दाबी गरे । उनले यसप्रति आफूहरुको असन्तुष्टि नरहेको प्रतिक्रिया दिए ।

निर्वाचन क्षेत्र बाँडफाँट भएपनि वाम गठबन्धनले उम्मेदवार भने टुंग्याउन सकेका छैनन् ।

चुनावकै मुखमा अरु पार्टी छाडेर आएका नेतालाई टिकट दिने कि पार्टीमा लामो समयदेखि योगदान पुर्‍याएका नेतालाई टिकट दिने भन्ने निर्णय लिन यी दुवै पार्टीलाई गाह्रो भइरहेको छ ।

२०७० को संविधानसभा निर्वाचनमा ६ ओटा निर्वाचन क्षेत्र रहेको सर्लाहीमा अहिले ४ ओटा निर्वाचन क्षेत्र रहेका छन् ।

०७० को निर्वाचनमा नेपाली कांग्रेसले २, एमालेले १, माओवादीले १, तत्कालीन तमसपाले १ र तत्कालीन तमलोपाले १ निर्वाचन क्षेत्रमा चुनाव जितेका थिए ।