
बिराज रोस्यारा (इमेज)
कैलाली, पुस १८ । दुर्लभ वन्यजन्तु गैंडाको खाग तस्करी गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार सार्वजनिक गरेको छ ।
धनगढी उपमहानगरपालिका–५, जाईमा बस्दै आएका ५१ वर्षीय चक्र भण्डारीलाई गैंडाको खागसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका भण्डारी बाजुराको बूढीगंगा नगरपालिका–३ का स्थायीवासी रहेको प्रहरीले जनाएको छ ।
उनले कारोबार गर्ने उद्देश्यले गैंडाको खाग राखेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले बताए ।
भण्डारीले भारतबाट खाग ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक ओलीले जानकारी दिए ।
अरु विवरण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रवक्ता ओलीको भनाइ छ ।
कानुनले प्रतिबन्ध लगाएको खागको अवैध कारोबार हुने गरेको सूचनाका आधारमा एक महिनाको प्रयासपछि भण्डारीलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार भण्डारी धनगढी उपमहानगरपालिका–६ स्थित आफ्नो आफन्तका घरमा लुकेर बसेका थिए । उनलाई ८२ वर्षीय गगनसिंह रौलेको घरबाट खागसहित पक्रेको प्रहरी नायब उपरीक्षक ओलीले जानकारी दिए ।
भण्डारीबाट बरामद खागको पिँधको गोलाइ ४२.५ सेन्टिमिटर र उचाइ ३२.४ सेन्टिमिटर रहेको छ ।
यद्यपि, गैंडाको सक्कली खाग रहे/नरहेको प्रमाणित गर्नका लागि ‘फरेन्सिक’ परीक्षण गर्ने प्रहरीले जनाएको छ ।
खागसहित पक्राउ परेका भण्डारीलाई थप कारबाहीका लागि डिभिजन वन कार्यालय कैलालीलाई बुझाएको छ ।
उनलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कारबाही हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्