पाटन दरवार क्षेत्रको कार्तिक डबलीमा साँझ देखाइने नाचमा नृसिँहले हिरण्यकश्यपुको वध गरेको दृष्य मञ्चन हुनेछ ।
भयानक युद्धको बीचमा नृसिँहले हिरण्यकश्यपुको वध गरेको दृष्य कार्तिक नाचको १२ दिनको अवधिमा मञ्चन हुने नाचहरुमा सबैभन्दा रोचक मानिन्छ ।
नाचमा बध गरिएपछि हिरण्यकश्यपुलाई मृत्यु संस्कार गरी तन्त्र साधनाबाट ब्युँझाउँने गरिन्छ भने नृसिँहलाई अप्सराको नृत्यले शान्त पार्ने चलन रहेको पाइन्छ ।
संसारकै लामो समयसम्म चल्ने एउटै मात्र जीवित नाट्य परम्परा दावी गरिएको कार्तिक नाच देशमा विघ्न वाधा हटी शान्ति सुब्यवस्थाका लागि जनतालाई समेत सुसूचित गर्ने उद्देश्यले शुरु गरिएको कथन छ ।
मल्ल राजा सिद्धिनरसिँह मल्लले ५ दिन कृष्ण लिला प्रदर्शन गरी शुरु गरेको नाच उनका छोरा श्रीनिवास मल्लले लोक नाटक थपेर १५ दिन पुर्याएका थिए भने श्रीनिवास मल्लका छोरा योगनरेन्द्र मल्लले उषाहरण र माधःवानर लिला थपेर २७ दिन पुर्याएका थिए ।
हाल भने स्रोतको अभावले नाच सञ्चालनमा कठिनाई रहेको कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकार बताउँछन् ।
कार्तिक नाचको प्रचारमा ब्यापकता ल्याउन कार्तिक नाचको फोटो प्रतिस्पर्धाको आयोजना गरिएको पनि उनले जानकारी गराए ।
कार्तिक नाच संसारको एउटै मात्र लामो समयसम्म चल्ने नाट्य परम्परा रहेको दावी पनि गरिँदै आएको छ ।










प्रतिक्रिया दिनुहोस्