२७ माघ २०८१, आइतबार | Sun Feb 9 2025


बजेट अभावमा तीन महत्वपूर्ण सडक आयोजनाको काम ठप्प


0
Shares

सीता पाण्डे/ईमेज

पाल्पा । बजेटको अभावमा पाल्पामा निर्माणाधीन तीन महत्वपूर्ण सडक आयोजनाको काम रोकिएको छ ।

एकातिर बजेट विनियोजन नभएको भन्दै निर्माण व्यवासायीले काम रोकेर बसेका छन् भने अर्कोतिर सडक डिभिजन कार्यालयले आयोजनाको बजेट शीर्षक नभएकले रकम रोकिएको जनाएको छ । जसले निर्माणाधीन आयोजनाको काममा  थप अन्योलता देखिएको छ ।

निर्माणाधीन वेलवास–नुवाकोट–दोभान सिद्धार्थ राजमार्ग वाइपास सडक, माडी चक्रपथ सडक र रानीघाट–तानसेन सडक निर्माणको काम बजेट विनियोजन नभएको भन्दै अवरुद्ध बनेको छ ।

६ करोड ७० लाख लागतमा २०७५ माघ १३ मा सक्ने गरी इलाइट काष्टमाण्डप उमा एण्ड कम्पनीसँग सम्झौता गरिएको सिद्धार्थ राजमार्ग वाइपास सडकको अहिलेसम्म ५० प्रतिशत काम बाँकी नै छ जसमा ५० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

त्यस्तै माडी चक्रपथ सडक निर्माणका लागि कोशी एण्ड न्यौपाने ओमशाही जेभी कम्पनीसँग ५ करोड ३३ लाखको सम्झौता भएको थियो पहिलेको समयसीमा सकिएर म्याद थपिएको छ तर आयोजनाको ६० प्रतिशत काम अझै बाँकी छ जसमा ५० हजार भुक्तानी बाँकी छ ।

तानसेन–रानीघाट सडकखण्डको लागि रसुवा ए.वि.ए निर्माण कम्पनीसँग १० करोड ९ लाखको सम्झौता भएको थियो । जसको समयसीमा सकिएको छ तर म्याद भने थपिएको छैन ।

१ करोड १५ लाख भुक्तानी तिर्न बाँकी रहेको र २५ प्रतिशत काम बाँकी नै  छ ।

एकातिर सम्झौताअनुसार बजेट विनियोजन भएको कुरा त छँदै छ तर अर्कोतिर विनियोजित बजेट अनुसार काममा प्रगति भएको पनि देखिँदैन । बजेटको कारण आयोजना अलपत्र हुने जोखिम देखिएको स्थानीय बताउँछन् ।

यता,सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकृत पवित्रमणि आचार्यले यी योजनाको  बजेट शीर्षक डिभिजन कार्यालय पाल्पामा नभएकाले व्यवसायीलाई दिनुपर्ने रकम रोकिएको बताउँछन् ।

यस्ता महत्वपूर्ण आयोजनाको कामलाई रोक्नु किमार्थ उचित हुँदैन ।

सम्बन्धित पक्षले निर्माण कम्पनीलाई  सम्झौताअनुसार रकम उपलब्ध त गराउनुपर्छ नै साथसाथै जिम्मेवारी लिएकाले विनियोजित बजेट अनुसारको काम पनि गर्नुपर्छ ।