Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


टोपी दिवस किन ? (भिडियो)


0
Shares

मीरा बस्नेत, शंकर खनाल र लक्ष्मणमान डंगोल (इमेज)

काठमाडौं, पुस १७ । ‘नेपाली टोपी हाम्रो गौरव, हाम्रो पहिचान’ भन्ने नारासहित छैटौं ‘राष्ट्रिय नेपाली टोपी’ दिवस मंगलबार मनाइएको छ ।

नेपालीहरुको पहिचानकारुपमा रहेको टोपीको संरक्षण र जगेर्ना गर्ने उद्देश्यले पाँच वर्षअघिदेखि अंग्रेजी नयाँवर्षको दिन पारेर टोपी दिवस मनाउन थालिएको हो ।

नेपाली टोपीको प्रवद्र्धन गर्ने उद्देश्यले केही युवाले अंग्रेजी नयाँवर्षको पहिलो दिन यो दिवस मनाउन सुरु गरेका थिए ।

अंग्रेजी नयाँवर्ष मनाउने प्रचलन बढिरहेको भन्दै २०७० सालदेखि नेपाली मौलिक पोसाक संरक्षण अभियानका लागि टोपी दिवस मनाउन थालिएको हो ।

पछिल्लो समय राष्ट्रिय टोपी दिवसले राष्ट्रियस्वरुप ग्रहण गर्न थालेको छ । दिवसका अवसरमा मुलुकका विभिन्न स्थानमा ढाकाटोपीमा सजिएकाहरुले र्‍यालीसमेत निकाले ।

काठमाडौंको माइतीघरबाट सुरु गरिएको टोपीर्‍याली नयाँबानेश्वर पुगेर समापन भएको थियो ।

विशेषतः भादगाउँले टोपी र ढाकाटोपीलाई नेपाली टोपीकारुपमा लिने गरिन्छ । तर, नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्कनेखालका टोपी पनि लगाउने गर्दछन् ।

सुरुआती दिनमा सामाजिक सन्जालमार्फत् टोपी दिवसको प्रचार–प्रसार गरिएपनि पछिल्लो समय भने विभिन्न किसिमका कार्यक्रमहरु गरेर टोपी दिवस मनाउन थालिएको छ ।

सदियौंदेखि नेपाली पहिचानकारुपमा रहेको दौरा–सुरुवाल, टोपी र गुन्यू–चोलीलाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गरियोस् भन्ने माग पनि बढ्दै गएको छ ।

नेपालीको विशिष्ट पहिचान भनेकै दौरा–सुरुवाल, टोपी र गुन्यू–चोली भएको सर्वसाधारणको भनाइ छ ।

सर्वसाधारणले नेपाली पहिरनलाई राष्ट्रिय मान्यता दिन पनि सरकारसँग माग गरेका छन् ।

स्कुलका विद्यार्थीदेखि सरकारी कार्यालय र संघ–संस्थामा आबद्ध सबैलाई टोपी लगाउन अनिवार्य गर्नुपर्ने उनीहरुको भनाइ छ ।

भिडियो हेर्नुहोस्