काठमाडौं, पुस १७ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पानीजहाज चलाउन गरेको घोषणाबारे जानकारी दिन माग गरेका छन् ।
‘प्रधानमन्त्री ओलीले २०७५ साल पुस १६ गते अर्थात् सोमबार (हिजो)बाट नेपालमा चल्छ भनी गरेको घोषणाअनुसारको पानीजहाज कहाँबाट चल्यो ?’ भन्दै सांसद सुवालले संसदलाई यसबारे जानकारी दिन आग्रह गरे ।
बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सरकारले दुईओटा ‘वाइडबडी’ विमान खरिद गर्दा सार्वजनिक खरिद ऐन र नियमावलीका प्रावधानको पालना नगरेको आरोप लगाए ।
नेकपाका सांसद पम्फा भुसालले कर्मचारीले खटाएको ठाउँमा जानुपर्ने भन्दै वृत्ति विकासमा असर पर्ने गरी गरिएको व्यवस्था संशोधन गर्न माग गरिन् ।
संघीय समाजवादी फोरमका सांसद विमलप्रसाद श्रीवास्तवले स्थानीय तहका कर्मचारीलाई पन्छाएर विकास निर्माणका काम हुन नसक्ने बताए ।
बैठकमा नेकपाका सांसद मेटमणि चौधरीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सबैको उपचार हुने र अन्यत्र जानु नपर्ने आशा गरिएकामा केही कर्मचारीको दादागिरीले अस्पतालको अवस्था नाजुक बनेको बताए ।
यस्तै, नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठले राष्ट्रिय शिक्षा आयोगले निजी विद्यालयलाई बेवास्ता गरेको, सरकारले शिक्षामा कम लगानी गरेको, देशभर ६० हजार शिक्षक उपलब्ध हुन नसकेकाले शिक्षाको गुणस्तर खस्किएको बताए ।









प्रतिक्रिया दिनुहोस्