Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


दिउँसै  मापसे गरी सवारी चलाउने चालकमाथि कारबाही सुरु


0
Shares

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा दिउँसो मापसे गरी सवारी चलाउने चालकमाथि कारबाही थालेको छ । राति ८ देखि ११ बजेसम्म मापसे गर्नेमाथि कारबाही गर्दै आएको ट्राफिक प्रहरीले केही दिनयता दिउँसोसमेत जाँच गर्न सुरु गरेको हो ।

महाशाखाका प्रवक्ता उमेश रञ्जितकारले ट्राफिक प्रहरीको राति एकै समय मापसे जाँच गर्दा चालकले छल्नका लागि दिउँसै मादकपदार्थ सेवन गरेर सवारीसाधन चलाउन थालेपछि दिउँसै जाँच गर्न सुरु गरिएको बताए ।

‘सडकमा गुडिरहेका सवारीसाधनलाई बाधा नपर्ने गरी क्रमशः दुई चारओटा सवारीसाधनलाई सडकको किनारामा ल्याएर जाँच गर्न थालेका छौँ,’ उनले भने । दिउँसो कार्यालय छाडेर घर जाने समयमा मापसे गरेर सवारी चलाएको पाइएको उनले बताए ।

महाशाखाले विसं २०६८ मंसिर १७ देखि मापसे गरी सवारी चलाउने चालकमाथि जाँच गर्दै आएको हो । प्रवक्ता रञ्जितकारले पछिल्लो समय मापसे गरी सवारी चलाउने र दुर्घटना हुने संख्यामा कमी आएको बताए ।

ट्राफिक प्रहरीले मापसे गरी सवारीसाधन चलाउने सवारीसाधनलाई सवारीचालक अनुमतिपत्र भए रु एक हजार र नभए रु दुई हजार जरिवाना लिँदै आएको छ । रासस