Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


नागढुंगा सुरुङ निर्माणका लागि जग्गाप्राप्तिको प्रक्रिया सुरु


0
Shares

यो सुरुङमार्ग निर्माण भएपछि उपत्यका भित्रिँदा घन्टौं लामो जाम नहुने विश्वास गरिएको छ ।

आयोजनाअन्तर्गत् पूर्वी सडकखन्ड निर्माण गर्न जग्गाप्राप्तिका लागि हक दाबी गर्न जग्गाप्राप्ति ऐन २०३४ को दफा ९ अनुसार ३० दिने सूचना जारी गरिएको नागढुंगा सुरुङ निर्माण आयोजनाले जनाएको छ ।

मार्ग निर्माणका लागि ४३७ कित्ताका २६६ रोपनी जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएको आयोजना प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए ।

मार्ग निर्माणका लागि काठमाडौंतिरको जग्गा अधिग्रहण गर्न लागिएको हो । हालको चन्द्रागिरि नगरपालिका साविकको महादेवस्थान, थानकोट, बलम्बु र दहचोक गाविसका सरकारी एवं निजी जग्गा, घर, रूख, बिरुवा र बालीनालीको मुआब्जा दिइ जग्गा अधिग्रहण गरिनेछ ।

‘बस्नेतछापमुनिको दहचोकदेखि नौबिसेनजिकको सिस्नेखोलासम्म २.७ किमि सुरुङ निर्माण हुन्छ, यो मार्ग निर्माणका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले सस्तो ब्याजदरको ऋण सहयोग गरेको छ, यसको लागत रु १७ अर्ब छ’–श्रेष्ठले भने ।

वार्षिक शून्य दशमलव ०१ प्रतिशत ब्याजको यो ऋण ४० वर्षमा तिरिसक्नुपर्ने आयोजनाले जनाएको छ ।

सुरुङ वि.सं. २०७९ पुस मसान्तसम्म सम्पन्न हुने लक्ष्य राखिएको आयोजना प्रमुख श्रेष्ठले बताए ।

सुरुङको पूर्वी खन्डको प्रवेशमार्ग राजमार्गसरह केन्द्रबाट २५/२५ मिटर बन्ने आयोजनाका इन्जिनियर छविलाल पौडेलले बताए ।

सुरुङ पार गरेर धादिङको सिस्नेखोला पुगेपछि भने ५०० मिटरमात्र प्रवेशमार्ग बनाएपछि राजमार्गसँग जोडिन्छ ।

धादिङतिरको प्रवेशमार्ग निर्माणका लागि जग्गाप्राप्त गर्न सूचना जारी गर्ने तयारी भइरहेको पनि आयोजनाले जनाएको छ ।