Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


अत्यधिक चिसोका कारण मनाङमा पठन-पाठन प्रभावित


0
Shares

हिमालको छेवैमा रहेका विद्यालय र शून्य डिग्री तापक्रम वरिपरि हिमपातका कारण कक्षाकोठामा बढी चिसो हुने भएकाले कक्षाकोठामा पठनपाठन गर्न कठिन भएको र चिसो बढेपछि सधैँ बाहिर पठनपाठन गर्दै आएको बताउँछिन् अन्नपूर्ण मावि मनाङका शिक्षक चित्रकला पराजुली ।

बिहान १० देखि ३ बजेसम्म अलिअलि घाम लाग्ने र घामको ताप रहुन्जेल सहज हुने भएकाले बालबालिकालाई घाममा राखेर पढाउँदै आएको उनले बताइन् ।

यसरी कठिन परिस्थितिमा पनि आफूहरुले विद्यालयको पठनपाठनलाई निरन्तरता दिएको साथै सार्वजनिक बिदामा पनि विद्यालयमा पठनपाठन भएको बताउँछन् अन्नपूर्ण मावि मनाङका प्रअ आन्नदराज घिमिरे ।

नेपालका अधिकांश सरकारी विद्यालय सार्वजनिक बिदाका दिनमा बन्द भए पनि मनाङको माथिल्लो भेगमा रहेका विद्यालयमा पढाइ हुने गरेको पाइन्छ ।

चिसोका कारण विद्यार्थी र शिक्षकमा स्वास्थ्य समस्या आएकाले चिसोबाट बच्न र बचाउन पनि कक्षाकोठा बाहिर पठनपाठन गर्न बाध्य भएको शिक्षिका टीककुमारी विकले बताइन् ।

यसरी कक्षाकोठा बाहिर अध्यापन गराउँदा विद्यार्थीको पढाइ र सिकाइ कतिको प्रभावकारी होला भन्ने जिज्ञासा जनमानसमा बढेको छ । रासस