Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


‘देशलाई कांग्रेसले नै समृद्ध बनाउँछ’


0
Shares

चितवन, पुस १६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले आउने निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।

नेपाली कांग्रेस चितवनले सोमबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कार्कीले कसैलाई प्रधानमन्त्री र मन्त्री बनाउन नभइ देशलाई समृद्ध बनाउन कांग्रेस पहिलो पार्टी बन्ने बताए ।

‘पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन । देशलाई कांग्रेसले नै समृद्ध बनाउँछ’–उनले भने ।

उनले यसका लागि पनि पार्टी एकढिक्का हुन जरुरी रहेको औंल्याए ।

कांग्रेस पहिलो पार्टी बनेमामात्रै जलस्रोत, पर्यटनलगायत सम्भावना बोकेका क्षेत्रलाई यथार्थमा बदल्नसक्ने उनको भनाइ थियो ।

पूर्वअर्थमन्त्रीसमेत रहेका नेता कार्कीले देशको सम्भावनालाई यथार्थमा बदल्दै एसियाकै सम्पन्नशाली देश बनाउन सकिएमात्रै बीपी कोइरालालगायतका नेताको स्मरण गर्नुको सार्थकता रहने उल्लेख गरे ।

‘बीपीले ल्याएको एकता र मेलमिलापको नीतिलाई आत्मसाथ गर्दै अब कांग्रेस नेताको घरमा होइन, जनताको घरदैलोमा पुग्नु पर्छ–उनले भने ।

अब गुट निर्माणमा नभइ कांग्रेस निर्माणमा लाग्नुपर्ने समय आएको बताउँदै उनले ‘३६४ दिन कांग्रेस बन्ने र निर्वाचनको दिन गैरकांग्रेस हुने परिपार्टीको अन्त्य गर्नुपर्ने’मा जोड दिए ।

नेता कार्कीले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको टिप्पणी गरे ।

उनले भने–‘जनतालाई आशा देखाएर जन्मिएको ओली सरकारले जनहितमा काम गर्न सकेको छैन । जनतामा निराशा छाएको छ ।’