Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


दलहरु नै पुराना अंगसँग मिलेर अलोकतान्त्रिकरण भएकाले समस्या : बाबुराम (भिडियो)


0
Shares

काठमाडौं, पुस १६ । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आन्दोलनपछि राज्यका सबै अंग लोकतान्त्रिकरण हुनुपर्नेमा दलहरु नै पुराना अंगसँग मिलेर अलोकतान्त्रिकरण भएकाले वर्तमान समस्या देखिएको बताएका छन् ।

इमेज च्यानलको कार्यक्रम ‘सम्भाष’मा कुरा गर्दै उनले दलहरु नसच्चिए सूचना र प्रविधिका कारण सचेत जनताले यिनलाई फाल्ने बताए ।

यसका लागि निरन्तर खबरदारी गरिरहनुपर्ने तर थप क्रान्ति भने गर्नुनपर्ने उनको भनाइ छ ।

नयाँ शक्ति नेपालका संयोेजक डा. बाबुराम भट्टराईकाअनुसार नेकपा र नेपाली कांग्रेस रुपान्तरण हुनुको साटो पुरानो आन्दोलनको ब्याज खाँदै यथास्थितिमा रमाउन खोजेकाले जनता निराश भएका हुन् ।

आन्दोलनपछि राज्यका सबै अंग लोकतान्त्रिक हुनुपर्नेमा दलहरु नै सुरक्षा निकाय, व्यूरोक्रेसी, अदालतलगायतका पुराना शक्तिसँग मिलेकाले लोकतान्त्रिकरणको प्रक्रिया पूरा नभएको उनको ठम्याइ छ ।

नागरिक समाज र मिडियाले बोल्दा आक्रमण हुने प्रवृत्ति अन्त्य हुनुपर्छ भन्दै उनले नागरिक समाज र मिडियाले दलहरुलाई सच्चिन सचेत गराइरहेको बताए ।

वर्तमान निर्वाचन प्रणालीबाट नयाँ शक्तिहरु आउन नसक्ने भएकाले निर्वाचन प्रणालीमा परिवर्तन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानुपर्ने उनको धारणा छ ।

हाम्रो आर्थिक प्रणालीमा समस्या रहेको भन्दै उनले यही प्रक्रियाबाट समृृद्धि प्राप्त नहुने बताएका छन् ।

भिडियो हेर्नुहोस्