काठमाडौं । आज ४३ औं राष्ट्रिय मेलमिलाप दिवस । नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइराला राष्ट्रिय एकतासहितको मेलमिलाप नीति लिएर भारतको निर्वासनबाट स्वदेश फर्किएको दिन ।
कांग्रेसले वीपीलाई औपचारिक रुपमा संझने काम गरे पनि साँच्चै वीपीको मेलमिलाप तथा उनले देखेको समाज निमार्णबाट भने पन्छँदै गएको छ ।
वि.स. २०३३ साल पुस १६ गते भारतको लामो निर्वासन त्यागी वीपी कोइरालासहित नेताहरु स्वदेशमै बसेर व्यवस्था परिवर्तनविरुद्धको आन्दोलनमा सहभागि बन्ने अठोटका साथ स्वदेश फर्किएका थिए ।
विदेशमा बसेर स्वतन्त्रताको लडाई लड्दा त्यसले मुलुकको राष्ट्रियतामा आँच पुर्याउने ठम्याईसहित आफ्नै पार्टीका नेताहरुको असन्तुष्टीका बीच वीपी आफ्ना सहयोद्धाका साथ नेपाल फर्कनु भएको थियो ।
तर मेलमिलापको नीति बोकेर नेपाल आएका वीपीसहितका कांग्रेस नेतालाई तत्कालीन सरकारले पक्राउ गरी सुन्दरीजल बन्दीगृहमा लगेर थुन्यो । फेरी पनि वीपीले राजासँगको एकता नै मेलमिलाप हो भन्न छुटाएनन् ।
कांग्रेसको मूल नीति नै वीपीले देखेको समाज हो । तर सत्तामा पुग्दा उसले आफ्नो आदर्श विर्सने गरेको आरोप कांग्रेसका हरेक नेतृत्वलाई लाग्दै आएको छ । तर व्यवहार त्यसको विपरीत छ ।
पछिल्ला दिनमा सत्ताबाट च्यूत भएपछि मेलमिलापको विषय काँग्रेसको प्राथमिकतामा पर्न सकेको छैन ।
राष्ट्रिय एकता तथा मेलमिलाप भनेको स्वदेशी शक्तिहरुबीचको एकता नै हो । जसले मुलुक सम्मृद्ध बनाउन सहयोग पु¥याँदछ ।
नेपालको सन्र्दभमा अहिले पनि राष्ट्रिय मेलमिलापको त्यत्तिकै आवश्यकता छ । जसको संकेत बुधबार नेकपा अध्यक्ष पुष्पकमल दाहालले संसदमै बोल्ने क्रममा गरेका छन् ।
यो अभिव्यक्ति पनि मेलमिलाप नीतिकै एउटा दृष्टान्त हो । तर मेलमिलापको वकालत गर्नुपर्ने कांग्रेस भने यो बाट अलिक पछि परेजस्तो देखिन्छ ।
कांग्रेस नेताहरु पछिल्लो दिनमा मेलमिलापको भन्दा बढी घुर्कीको भाषा प्रयोग गरिरहेका छन् ।
सहमति सहकार्य सत्तारुढ दलमा भर पर्छ, अब त्यसै छोडिदैन भन्ने अभिव्यक्ति कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा दिएका छन् ।
यो अभिव्यक्तिले मेलमिलापबाट कांग्रेस केही टाढा जान लागेको हो कि भन्ने शंका गर्ने ठाउँ दिएको छ ।
मेलमिलाप दिवसको अवसमा कांग्रेसीहरुले सोमबार ७७ जिल्लामा कर्मकाण्डी भेला गरेर संझना गर्दैछन् ।
त्यसले वीपीको मेलमिलापको विम्ब बोक्दैन । वीपीले देखेको समाज समृद्धशाली र सुखी परिवार नै हो । राजनीतिको मुल उद्दृेश्य पनि समाजलाई समृद्ध बनाउने नै हो ।
तर सत्ता र विपक्षका नाममा सँधै विवाद मात्र गर्ने र मुलुक निमार्णतर्फ नलाग्ने हो भने यस्ता मिलमिलाप दिवसको अवसरमा नेताको नाममा भजन मात्र गाउनुको कुनै अर्थ रहनेछैन ।









प्रतिक्रिया दिनुहोस्