२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


गोदावरी नदीबाट गिट्टी तथा बालुवाको अवैध उत्खनन, गाउँले चिन्तित


0
Shares

विराज रोस्यारा/ईमेज

कैलाली । कैलालीको गोदावरी नगरपालिकास्थित गोदावरी नदीबाट ढुङगा, गिट्टी तथा बालुवाको अवैध उत्खननको कार्य बढ्दै गएको छ ।

मापदण्डविना मनपरी तरिकाले नदीजन्य वस्तुको उत्खनन बढ्न थालेपछि स्थानीयवासी भने चिन्तित छन् ।

गोदावरी नदीमा जथाभावी रुपमा ढुङगा, गिट्टि बालुवा उत्खनन हुन थालेपछि स्थानीयवासी गाउँ जोखिममा पर्ने भन्दै चिन्तित हुन थालेका छन् ।

वर्षेनी नदीबाट ठूलो मात्रामा नदीजन्य बस्तुको उत्खनन भइरहेको तर तटबन्ध नहुँदा गाउँ नै बगाउने जोखिम बढेपछि स्थानीयवासी चिन्तित बन्न थालेका हुन् ।

ढुङगा, गिट्टि बालुवाको ठेक्का लगाउने समयमा सबैले तटबन्ध गर्ने बाचा गरे आजसम्म कसैले ध्यान पु¥याउन सकेका छैनन् ।

गोदावरी नदीमा दैनिक एक दर्जन बढी स्काभेटर, जेसिविले ढुङगा, गिट्टि बालुवाको उत्खनन गरिरहेका छन् जसका कारण बढी पहिरो र भूक्षयको जोखिम बढेको स्थानीयको चिन्ता छ ।

यस्तो कार्यले वस्तीलाई जोखिममा पारेको कुरा पटकपटक उठान गर्दा पनि सम्बन्धित पक्ष गम्भीर नबनेको स्थानीयको गुनासो छ ।

जोखिम कम गर्नको लागि ढुङगा, गिट्टि बालुवाको उत्खनन गर्ने व्यवस्थित मापदण्ड बनाउनुपर्ने  सुझाव स्थानीय मोहननाथ योगीको छ ।

नगरपालिकाले नदीबाट ढुङगा, गिट्टि बालुवाको उत्खननका लागि ठेक्का त दिएको छ तर कति मात्रामा ढुङगा, गिट्टि बालुवाको उत्खनन गर्ने र कसरी गर्ने भन्नेबारे केही उल्लेख गरिएको छैन ।

नगरपालिकाका मेयर हरिसिह साउद भने असर पार्ने गरीउत्खनन गरेकोे भेटिए ठेकेदारलाई कारवाही गरिने दाबी गर्छन् ।