प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भोट हाल्न प्रेरित गर्न र भोट हाल्ने तरिका सिकाउन मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको हो ।
पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन आउन दुई हप्ता बाँकी रहँदा निर्वाचन आयोगले मतदाता शिक्षा सुरु गरेको हो । आयोगले मतदाता शिक्षाका लागि करिब २० हजार कर्मचारी परिचालन गरेको छ ।
उनीहरुले जिल्ला सदरमुकामबाट गाउँगाउँमा परिचालित भएर मतदातालाई भोट हाल्ने तरिका सिकाउने छन् ।
हुन त यसअघि नै आयोगले मतदाता शिक्षा थाल्नुपर्ने हो । तर, सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र अलग–अलग बनाउन निर्देशन दिएपछि मतदाता शिक्षा कार्यक्रम पनि ढिलो सुरु भएको हो ।
मतदाता शिक्षा स्वयंसेवक परिचालनमात्र नभइ विभिन्न सन्चारमाध्यमबाट विभिन्न स्थानीय भाषा र भाषिक समुदायका लागि त्यही भाषाका स्वयंसेवक परिचालन गरिएको निर्वाचन आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले जानकारी दिए ।
आयोगले आगामी निर्वाचनमा एक मतदाताले दुई मिनेटभित्र मतदान गरिसक्ने गरी व्यवस्था मिलाएको छ ।
हुन त निर्वाचन आयोगले यसअघिका निर्वाचनमा पनि मतदाता शिक्षा दिँदै आएको थियो । तर, स्थानीय तह निर्वाचनमा मत बदर संख्या धेरै भएपछि निर्वाचन आयोगको आलोचना भएको थियो ।
आयोगका प्रवक्ता नवराज ढकालले अघिल्ला निर्वाचनभन्दा यसपटकको मतदान प्रक्रिया मतदातामैत्री रहेको र निर्वाचन आयोगले प्रभावकारी ढंगले मतदाता शिक्षा कार्यक्रम सुरु गरेको जानकारी दिए ।
त्यसो त निर्वाचन आयोगले यसपटकको मतदाता शिक्षा कार्यक्रमका लागि स्थानीय गैरसरकारी संस्थालाई पनि प्रयोग गर्ने भएको छ ।
निर्वाचन आयोगले एक मतदान केन्द्रमा एकजना मतदाता शिक्षा कार्यकर्ता खटाएको छ ।
यसरी हेर्दा १ हजार ६४ जना मतदातालाई एकजना मतदाता शिक्षा स्वयंसेवकले शिक्षा दिनुपर्ने र एक मतदाता शिक्षा स्वयंसेवकले २०० घर–परिवारमा पुग्नुपर्नेछ ।
निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गरी मतदाता शिक्षा कार्यक्रमका लागि एक अर्ब रुपैयाँ विनियोजन गरेको जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्