Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


रास्वपाका सभापति लामिछाने रिहा भएपछि पार्टीको जिम्मेवारीमा फर्किने: कार्यवाहक सभापति अर्याल


897
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नख्खु कारागारबाट रिहा भएलगत्तै पार्टीकाे जिम्मेवारीमा फर्किने भएका छन् ।

कार्यवाहक सभापति डिपी अर्यालले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे बताउनुभएकाे हाे। कानूनी र प्रशासनिक प्रक्रिया पूरा गरी सभापति तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किने उहाँले जानकारी गराउनुभएकाे छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सभापति लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशप्रति सम्मान व्यक्त गर्दै विधिको शासन, कानूनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति रास्वपा सदैव प्रतिबद्ध रहेको जारी विज्ञप्तिमा भनिएको छ।

सभापति लामिछानेमाथि लगाइएका झुटा मुद्दाहरू हाल यथावत् रहेको र यी मुद्दाहरू तत्कालीन निरंकुश सरकारले शुरु गरेको राजनीतिक प्रतिशोधको शृङ्खला भएको स्पष्ट भइसकेकोले अहिलेको नागरिक सरकारले आवश्यक कदम चाली यो प्रतिशोधको शृङ्खलालाई पूर्णविराम लगाउने छ भन्ने विश्वास पार्टीले लिएको उल्लेख गरिएकाे छ।

राजनीतिक प्रतिशोधविरुद्ध एकजुट भएर निरन्तर खबरदारी गर्नुहुने देश-विदेशमा रहनुभएका सम्पूर्ण न्यायप्रेमी नेपाली तथा विभिन्न अभियानमार्फत न्यायका पक्षमा उभिएर सन्देश दिनुहुने पार्टी सदस्य एवं समर्थक-शुभेच्छुकहरुप्रति आभार व्यक्त गर्दछौं जारी विज्ञप्तिमा भनिएको छ।