अक्कल कुँवर
काठमाडौं, पुस १५ । संसद सचिवालयका कर्मचारीको आन्दोलनका कारण प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको संसदीय सुनुवाई प्रक्रिया प्रभावित भएको छ ।
सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीलाई दिउँसो २ बजे बोलाएर सुनुवाई चलिरहेको बेला कर्मचारीको असहयोग कारण बैठक स्थगित गर्नुपर्यो ।
प्रधानन्यायाधीशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबराको संसदीय सुनुवाईका लागि संसदीय सुनुवाई समितिले २ बजे बैठक बोलाएको थियो । बैठकको सुरुमै समितिका सभापति लक्ष्मणलाल कर्णले प्रधानन्यायाधीशमा सिफारिस भएका जबरालाई आफ्नो भावी कार्ययोजना प्रस्तुत गर्न निर्देशन दिए ।
सभापतिको अनुमति पाएलगत्तै जबराले १५ बुँदे आफ्नो कार्ययोजना पेश गरे । लगत्तै सांसदहरुले प्रश्न राख्नेक्रम सुरु भयो ।
समितिका सदस्यहरुमध्ये दुई जनाले प्रश्न सोध्न बाँकी रहँदा ४ बज्न ३ मिनेटमात्र बाँकी थियो । बैठकको संचार कक्षमा सचिवालयका कर्मचारीहरु ४ बज्ने समय कुरिरहेका थिए ।
४ बजे लगत्तै सभापति कर्णले सुनुवाई प्रक्रिया जारी राख्न चाहे पनि सचिवालयका कर्मचारीको आन्दोलनका कारण सम्भव नभएको भन्दै सोमबार ११ बजे पुनः बैठक बस्ने गरी स्थगित गरे ।
तर, कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार मेलमिलाप दिवसको कार्यक्रममा व्यस्त हुनुपर्ने भएकाले आफुहरु उपस्थित हुन नसक्ने जनाए ।
कांग्रेसका तर्फवाट समितिमा प्रतिनिधित्व गर्ने सांसदहरुको मागपछि सभापति कर्णले मंगलबार बिहान ११ बजे बैठक आह्वान गरे ।
भत्ता सुविधा माग गर्दै संसद सचिवालयका कर्मचारीहरु आन्दोलनमा छन् । उनीहरुले पछिल्लो समय बिहान १० देखि साँझ ५ बजेसम्म मात्र काम गरिरहेका छन् ।
सरकारले साउन १ गतेदेखि संसद सचिवालयका कर्मचारीहरुको ओभरटाइमको सुविधा कटौती गरेपछि सुविधा यथावत गर्नुपर्ने माग गर्दै उनीहरु आन्दोलन गरिरहेका छन् ।









प्रतिक्रिया दिनुहोस्