
दीपक श्रेष्ठ
काठमाडौं, पुस १५ । तपस्वी रामबहादुर बम्जनको आश्रमबाट आफन्तहरु बेपत्ता भएको भन्दै पीडितहरुले सरकारसँग गुहार मागेको भोलिपल्टै बम्जनका समर्थकले बम्जनमाथि झुठो आरोप लगाइएको भन्दै प्रतिवादमा उत्रिएपछि प्रहरी प्रशासनमाथि सत्यतथ्य पत्ता लगाउने दबाव बढेको छ ।
मकवानपुर हेटौंडाका सन्चलाल वाइवा बम्जन, हेटौडा रङ्गशालाकी फुलमाया रुम्बा, नुवाकोटकी कर्मा तामाङ्ग र बाराका सुरेश आलेमगरका आफन्तले गत शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी उनीहरु बम्जनको आश्रमबाट हराएको भन्दै खोजी गरिदिन सरकारसँग माग गरेका थिए । तर त्यसको भोलिपल्ट गत शनिबार बम्जनका अनुयायी भन्नेहरुले बम्जनमाथि मानिस बेपत्ता बनाएको झुठो आरोप लगाइएको भन्दै प्रतिवाद गरेका थिए ।
बम्जनको आश्रमबाट आफन्तहरु बेपत्ता भएको भन्दै नुवाकोट, बारा र मकवानपुर प्रहरीमा उजुरी परिसक्दा पनि प्रहरीले अहिलेसम्म कुनै कदम अघि बढाएको छैन । नेपाल प्रहरीका प्रवक्ता उत्तम सुवेदी भने निष्पक्ष छानबिन गरि सत्यतथ्य बाहिर ल्याउन छानविनको काम अघि बढाइसकेको दाबी गर्छन् ।
बम्जनको आश्रमबाट मानिसहरु बेपत्ता बनाइएको मात्रै होइन, त्यहाँ जाने महिलामाथि यौन शोषण हुने र अन्य अवैध गतिविधिसमेत भईरहेको समाचार बारम्बार आउँदा समेत प्रहरीले कानमा तेल हालेर बस्नुले प्रहरी प्रशासनप्रति पनि शंका उब्जनु अस्वाभाविक होइन ।
प्रतिक्रिया दिनुहोस्