काठमाडौं, पुस १५ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा हिन्दु विश्वविद्यालय स्थापना गर्न आफ्नो पूर्ण साथ रहने बताएका छन् ।
भारतीय स्वतन्त्रता सेनानी मदनमोहन मालवीयको १५७ औँ जन्मजयन्तिको अवसरमा आज काठमाडौंमा गरिएको कार्यक्रममा दाहालले नेपालमा पनि हिन्दु विश्वविद्यालय खुल्यो भने त्यसमार्फत नेपाल र भारतबीचको सम्बन्ध थप राम्रो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा हिन्दु विश्वविद्यालयका लागि जग्गा दान गरेका डा. अच्यूत अर्यालले काभ्रेको पाँचखालमा विश्वविद्यालय बनाउन ११ हजार रोपनी जमिन उपलब्ध भएको बताए । जसमा सामुदायिक वन र निजी जमिन दान गरेको पनि उनले जानकारी दिए ।
कार्यक्रमका अन्य सहभागीहरुले समेत हिन्दु विश्वविद्यालय स्थापना गर्न जोड दिएका थिए । भारतमा सन् १९१६ मा स्थापना गरिएको काशी हिन्दु विश्वविद्यालयको संस्थापकमा स्वर्गीय मालवीय पनि थिए ।









प्रतिक्रिया दिनुहोस्