Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


घटनास्थलमा १० देखि ४५ मिनेटमै प्रहरीः प्रदेश ४ मा यस्तो बन्यो सुरक्षा रणनीति (भिडियो)


0
Shares

गोरखा, लमजुङ र म्याग्दी सुरक्षाका दृष्टिले चुनौतीपूर्ण देखिएको क्षेत्रीय प्रशासन कार्यालयले जनाएको छ । हिमाल पारीका जिल्ला मनाङ र मुस्ताङमा भने निर्वाचनमा मौसमको चुनौती देखिएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो चरणमा प्रदेश ४ का गोरखा, लमजुङ र म्याग्दी सुरक्षाका दृष्टिकोणले अति संवेदनशील मानिएको छ ।

ती मध्ये गोरखामा ‘हेभिवेट’का उम्मेदवारबीच प्रतिष्पर्धा हुनु र दलीय गठबन्धन र विप्लव माओवादीको कारण सुरक्षा निकायले अति संवेदनशील मान्दै उच्च सुरक्षा सतकर्ता अपनाएको क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल बताउँछन् ।

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सिके रावत, विप्लव माओवादी र खुल्ला सीमा प्रमुख चुनौती रहेको छ ।

शहरी क्षेत्रमा घटना भएको ५ देखि १० मिनेटभित्र सुरक्षाकर्मी पुग्छन् भने अन्यत्र बाटो सहज नभएको ठाउँमा ३० देखि ४५ मिनेट भित्र सुरक्षाकर्मी पुगिसक्ने बताइएको छ ।

मतदानस्थलमा सुरक्षाका लागि भित्री घेरामा नेपाल प्रहरी र सशस्त्र प्रहरी रहने छन् भने बाहिरी घेरामा नेपाली सेनालाई खटाइनेछ ।

सशस्त्र प्रहरी र नेपाली सेनाले मतदान केन्द्रलाई १९ पटकसम्म अनुगमन गर्ने किसिमको सुरक्षा योजना रहेको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक कमलसिंह बमले सुरक्षा दृष्टिकोणले प्रदेश ४ मा २ सय ५ अतिसंवेदनशील, ४ सय ६० संवेदनशील र ५ सय ८२ सामान्य मतदान केन्द्र रहेका छन् ।

यस प्रदेशका कुल ११ जिल्लामा १२ सय ४७ मतदानस्थल छन् भने २ हजार ५१ वटा मतदान केन्द्र रहेका छन् ।

मंसिर १० मा पहिलो चरणमा हुने निर्वाचनमा गोरखाका ४९ मतदानस्थल अतिसंवेदनशील, ४१ संवेदनशील र २ वटा सामान्य छन् ।

लमजुङमा १८ वटा अति संवेदनशील, ४९ संवेदनशील र ३६ सामान्य छन् भने म्याग्दीका २५ मतदानस्थल अति संवेदनशील, ३६ संवेदनशील र ११ सामान्य गरी वर्गीकरण गरिएको छ ।

यसरी ३ जिल्ला गोरखा, लमजुङ म्याग्दीमा गरी अति संवेदनशील मतदानस्थल ९२ वटा रहेका छन् । पहिलो चरणमा यस प्रदेशका गोरखा, लमजुङ, म्याग्दीसहित, बागलुङ, मनाङ र मुस्ताङमा मतदान हुँदैछ ।

सुरक्षाका लागि नेपाल प्रहरीका ८ हजार, म्यादी प्रहरी १० हजार ७ सय भित्री घेरामा परिचालन हुनेछन् ।

मतदानस्थलमध्ये अति संवेदनशीलमा १५ जना, संवेदनशीलमा ११ जना र सामान्यमा ८ जना नेपाली प्रहरी र म्यादी प्रहरी रहनेछन् ।

प्रदेश ४ मा १५ लाख ६८ हजार मतदाता छन् । पहिलो चरणमा प्रदेश ४ मध्ये ६ जिल्लाबाट ५ लाख ६३ हजार २४ जनाले मतदान प्रक्रियामा भाग लिनेछन् ।

निर्वाचनको लागि हिमालपारीका जिल्ला मनाङ र मुस्ताङ मौसम चुनौतीको रुपमा रहेको छ ।

सबै मतदानस्थलमा पहिलो चरणका लागि आवश्यक निर्वाचन सामग्री पुगिसकेको क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले जानकारी दिए ।