Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


जेलबाट छुटेको खुशीमा नगरभरि विदाः हेलिकप्टर चढेर आए मेयर


0
Shares

रौतहट । कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद सजाय पाएका कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा सर्वोच्च अदालतबाट सफाइ पाएपछि हेलिकप्टर चार्टर गरी शनिबार गृहनगर रौतहट आएका छन् ।

उनी जेलमुक्त भएको खुसियालीमा नगरपालिका, वडा कार्यालय र नगर क्षेत्रका सबै विद्यालयमा आइतबार सार्वजनिक बिदा दिइएको छ ।

रौतहटको कटहरिया नगरपालिकास्थित जनता माविको प्रांगणमा हेलिकप्टर चार्टर गरी आएका मेयर सियाराम कुशवाहा ।

अदालतको सफाइले जेलबाट छुटेलगत्तै उनी नेकपा अध्यक्ष पुष्पकमल दाहाल निवास पुगेका थिए ।

शनिबार भने उनी हेलिकप्टरबाट कटहरियास्थित जनता माविको प्रांगणमा उत्रिए । उनलाई नगरवासीले फूलमाला, खादा र दोसल्ला ओढाएर स्वागत गरे ।

उनका साथमा नेकपा नेता तथा सांसद प्रभु साह, प्रदेश सांसद कुन्दन कुशवाहालगायत नेता आएका थिए ।

त्यसपछि मेयर कुशवाहा कटहरिया डुमरिया र जमुनियामा राखिएको स्वागत सभामा पनि हेलिकप्टर लिएरै पुगेका थिए । उनलाई गाउँमा भव्य स्वागत गरिएको थियो ।

गत वैशाख २७ गते राजधानीबाट पक्राउ परेका कुशवाहालाई सर्वोच्चका न्यायाधीशद्वय शारदा घिमिरे र डम्बर शाहीको इजलासले सफाइ दिएको हो । उनी शुक्रबार ५ बजे डिल्लीबजार कारागारबाट रिहा भएका थिए ।

झन्डै ९ महिना लामो कारागार बसाइपछि रिहा भएका कुशवाहा शनिबार आफ्नो गाउँ कटहरिया आएका हुन् ।

‘न्यायालयले ममाथि न्याय गरेको छ,’ उनले भने, ‘यो जनताको जित हो ।’ आफू निर्दोष भएको र राजनीतिको सिकार बनेको उनले दाबी गरे । -कान्तिपुर दैनिकबाट